शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी दर्ता कहाँ, क-कसले ?

नेपालखोज २०७६ पुष २० गते १७:१८

२० पुस, काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि नम्बर १ बाट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उमेदवारको मनोनयन दर्ता गराएको छ । कांग्रेसबाट अन्यतर्फ झापाका राजेन्द्रकुमार घिमिरे, दलिततर्फ पाँचथरका नीरबहादुर विक र महिलातर्फ सुनसरीको धरानकी मीना पुलामी मगरले उमेदवारी दर्ता गराएका हुन् । कांग्रेसका उमेदवारहरुले मोरङको विराटनगरस्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएको कांग्रेस केन्द्रीय सदस्य डा. डिला संगौलाले जानकारी दिइन् ।

यस्तै, प्रदेश–२ बाट विभिन्न दलका उम्मेदवारहरुले मनोयनपत्र दर्ता गराएका छन् । प्रदेश २ मा राष्ट्रिय सभा सदस्यको रिक्त रहेको ४ सिटका लागि ८ जना उम्मेदवारले मनोयन दर्ता गराएका हुन ।
नेकपाको तर्फबाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान तथा राजपाका तर्फबाट अन्य पुरुष समूह (खुल्ला) मा मृगेन्द्र सिंंह यादव र अल्पंख्यक वा अपांगताबाट शेखर सिंंहले मनोयन पत्र दर्ता गराएका हुन् ।

त्यसैगरी कांग्रेसबाट महिलातर्फ नगिना यादव, अपांगता वा अल्पसंख्यकमा भोला पजियार र समाजवादीबाट दलिततर्फ रामपृत पासवान र अन्य पुरुष समूह (खुल्ला) तर्फ अनिरुद्ध सिंहले मनोयन गराएका छन् । यस्तै, राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश ३ बाट नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आज नेकपाका तर्फबाट वेदुराम भुसाल र गंगा बेल्बासेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै प्रदेश ३ मा नेपाली काँग्रेसका उम्मेद्वारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् । ललितपुरको जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेसका छलीकुमारी उपाध्याय र हरिशरण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले आज जिल्ला निर्वाचन कार्यालय कास्कीमा मनोनयन दर्ता गराएका हुन् ।

प्रतिक्रिया