शुक्रबार, चैत १६, २०८०

जाने हैन त गोरखा मनकामना देवीको उत्पत्तिस्थल मालिका ?

नेपालखोज २०७६ पुष २१ गते १६:३८

२१ पुस, जाजरकोट । चारैतिर हरियाली । उत्तरतिर दन्त लहर जस्तै सेताम्य हिमाल । चराहरुको चिरचिर । यस्तो शान्त र सुन्दर वातावरण मन नपराउने सायदै कोही होलान् । यस्तो स्वर्ग जस्तै स्थान हो मालिका क्षेत्र । भेरी नगरपालिका–६ मछाइनामा अवस्थित मालिका क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार र सरोकारवालाहरु जुट्न थालेका छन् ।

समुद्री सतहदेखि दुई हजार ४९० मिटर उचाइमा रहेको मालिका क्षेत्र प्राकृतिक सुन्दरता र धार्मिक दृष्टिकोणले निकै उत्कृष्ट र महत्वपूर्ण मानिन्छ । सदरमुकाम खलङ्गा बजारदेखि १९ किलोमिटरको दूरीमा रहेको मालिका क्षेत्र चर्चित मालिका देवीको बासस्थान भएकाले मात्र नभएर प्राकृतिक सुन्दरताको खानी भएकाले पनि उत्कृष्ट पर्यटकीय क्षेत्र बन्दै गएको स्थानीयवासी रतव घर्तीले बताए ।

सरकार र अन्य सरोकारवालाहरुले गतिलो चासो दिएर यस क्षेत्रको प्रवद्र्धन गर्न सके बर्सेनि लाखौँ पर्यटक भित्र्याएर आर्थिक लाभ लिन सकिने प्रचुर सम्भावना रहेको उनले बताए । उनले मालिकाको डाँडामा पुग्ने जो कोहीले पनि धार्मिक हिसाबले शुद्ध मन र मानसिक हिसाबले ताजा दिमाग बनाएर फर्किने गरेको बताए ।

जाजरकोटको मालिका पुग्नु र गोरखाको मनकामना पुग्नु एकै भएको घर्तीको भनाइ छ । सदरमुकाम खलङ्गाबाट चार घण्टाको पैदल दूरी र गाडीको यात्राबाट डेढ घण्टाको दूरीमा रहेको मालिका क्षेत्र गोरखाको मनकामना देवी मनकामनाको उत्पत्तिस्थल पनि हो । गोरखाको मनकामना मन्दिरमा जस्तै जाजरकोटको मालिका मन्दिरमा पनि मगर जातिका पुजारी रहने व्यवस्था छ । मनकामना र मालिकालाई दुई बहिनीका रूपमा पुजिने गरिन्छ । मालिका क्षेत्र पर्यटकीय रूपले निकै उत्कृष्ट रहेको छ ।

छ सय ५० वर्षअघि स्थापना भएको जाजरकोट राज्यका बेला दुई बहिनी मालिका र मनकामनालाई त्यति बेलाका राजाहरुले अन्यायपूर्ण व्यवहार गरेको भन्दै जाजरकोटको भूमि त्यागेर मनकामना गोरखा गएको किंवदन्ती छ । मनकामनाले जाजरकोटको भूमि छोड्दा अब उप्रान्त माइती (शाह ठकुरी) को मुख देख्न नपरोस् भनेर श्राप दिएर गएको हुनाले अहिले पनि जाजरकोटका राजाका सन्तानहरु अर्थात् शाह ठकुरीहरु मनकामनाको दर्शन गर्न जाँदैनन् ।

जाजरकोटको मालिका क्षेत्रमा जाने हो भने मनकामनाको उत्पत्ति भएको ठाउँ भेरेमा नौवटा मूल जाग्ने गरेको त्यहीँको मन्दिरमा मनकामनाको पूजाआजा गर्ने गरिएको छ । माथि अग्लो पहाडमा मालिका देवीको पूजाआजा गर्ने गरिएको छ । तल्लो छेउ अर्थात् भेरेको नौमूलेमा मनकामना देवीको मन्दिर र पानीको दुर्लभ ताल अनि त्यही माथि डाँडाको भिरमा खस्नै लागेको जस्तो देखिने अजङ्गको पहाडमाथि मालिका देवीको मन्दिर हेर्दै मनमोहक लाग्नेछ ।

त्यही पहाड या ठूलो चट्टानकोे उचाइबाट टाढा टाढासम्मको मनोरम बजार देख्न सकिन्छ । स्थानीय सरकारले मालिका क्षेत्रमा आगन्तुक पाहुनाहरुका लागि अतिथि गृह र वनभोज खानका लागि बस्ने घर पनि बनाइदिएको छ । घनाजङ्गल र परपरसम्म देखिने सेता हिमशृङ्खलाहरुको मनोरम दृश्य र गहिरो आस्थाकी देवी मालिकाको वर्षौं पुरानो जीर्ण मन्दिरले सुन्दरता र ऐतिहासिक एवं धार्मिक महत्व बढाएको छ । साउन पूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको मालिका अजङ्गको पहाडसँगै ठूला घाँसे मैदानहरुले पनि सिङ्गारिएको छ ।

मालिका क्षेत्र जाजरकोटका लागि मात्र नभएर मुलुककै राम्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना देखिएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । “पूर्वमा सिस्ने हिमाल, उत्तरमा कुसे र च्याखुरे हिमाल अनि दक्षिणतिर रुकुम सल्यानका हरिया फाँटहरु, आसपासमा छरिएर रहेका साना साना बस्तीहरु र वरिपरिको रमाइलो बाक्लो जङ्गल क्षेत्रले कोही पनि पर्यटकको मनले एक छिन नभुलेर सुखै पाउँदैन”, नगरप्रमुख घर्तीले भने । प्रचारप्रसारको अभाव र सरोकारवालाहरुले उचित प्रवद्र्धनको पहल नगरेका कारण ओझेलमा परेको मालिका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले आवश्यक पहल गरिरहेको छ ।

जिल्लाभित्र र बाहिरका सर्वसाधारणका लागि मात्र नभएर विदेशी पर्यटकहरुका लागिसमेत खोज र मनोरञ्जनको आकर्षक पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मालिका क्षेत्रको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले विशेष गुरुयोजना तयार गर्न लागेको नगरप्रमुख घर्तीले बताए । उनले मालिका क्षेत्रलाई जाजरकोटको मात्र नभएर नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनका लागि आफूहरुले पूर्वाधार निर्माण एवं अन्य संरचना तयार गर्न मालिका पर्यटन क्षेत्र विकासका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) समेत निर्माण गरिसकेको बताए ।

सडक, बिजुली, सञ्चार, सुविधासम्पन्न मालिका भ्यू टावर, मालिका पहाडको घेराबार, रिसोर्ट, पार्क, वनभोज स्थललगायतका पूर्वाधारहरु निर्माण गरेर मालिकालाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूहरुले बजेट र योजनाको तर्जुमा गर्ने काम शुरु गरिसकेको नगरप्रमुख घर्तीले भनाइ छ ।

मालिका क्षेत्रमा सुविधासम्पन्न पूर्वाधारहरु निर्माण गर्नाका साथै पर्यटकहरुका लागि होमस्टेको पनि व्यवस्था गर्ने र यसका लागि स्थानीय जनतासँग सहकार्य गरिने प्रमुख घर्तीको भनाइ छ । हेमन्त केसी

प्रतिक्रिया