शुक्रबार, वैशाख १४, २०८१

देशैभर १० स्थानमा सिग्नेचर पुल बन्ने

नेपालखोज २०७६ पुष २१ गते १८:०२

२१ पुष, काठमाडौं । सरकारले देशभरका १० स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गर्ने भएको छ । पुल निर्माणको स्थान, सम्भावना, खर्चलगायतका विषयमा अहिले अध्ययन भइरहेको सडक विभागले जनाएको छ ।

पुल निर्माणका लागि आवश्यक अध्ययन सकिएपछि ठेक्का सम्झौता गरिने सडक विभागको पुल महाशाखाले जानकारी दिएको हो । चितवनको नारायणी नदी र पोखराको विजयपुरमा पुल निर्माणको टुङ्गो लागेको महाशाखा प्रमुख दिपक भट्टराईले बताए। अरु आठ स्थानको भने टुङ्गो लाग्न बाँकी छ । नेपालमा अहिलेसम्म कर्णाली नदीमा मात्रै उक्त प्रविधिको पुल निर्माण गरिएको छ ।

सो प्रविधिबाट पुल निर्माण गर्दा आकर्षक देखिने उनको भनाइ छ । उनले भने, “खर्चका हिसाबले पनि अहिले हामीले निर्माण गरिरहेका पुलभन्दा खासै बढी लाग्ने देखिएको छैन ।” सरकारले अहिले अधिकांश स्थानमा ‘आरसिसि’ प्रविधिको पुल निर्माण गरिरहेको छ । विश्वका अरु देशका प्रविधि भित्र्याउन पनि नयाँ–नयाँ डिजाइनका पुल निर्माण शुरु गरिएको छ ।

काठमाडौँ र बाहिरका बिभिन्न स्थानमा ‘आर्क एण्ड व्रिज’ को निर्माण समेत भइरहेको छ भने कर्णाली नदी पछि अहिले अरु नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण शुरु हुँदैछ । सरकारले दुई वर्ष पहिले सबै सडक दुई लेनभन्दा कम चौडाईका निर्माण नगर्र्ने निर्णायानुसार अहिले पुल पनि दुई लेन वा सोभन्दा बढी चौडाईका निर्माण भइरहेका छन् ।

प्रतिक्रिया