बस दुर्घटनामा काँग्रेस महासमिति सदस्यको मृत्यु, काँग्रेसकै अन्य नेता तथा कार्यकर्तासहित १८ सर्वसाधारण घाइते
२२ पुस, महोत्तरी । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ ।
महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय काँग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । काठमाडौँबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा ठक्कर दिदा बस दुर्घटना भएको थियो ।
मंगलबार बिहान ५ः०० बजे भएको सो दुर्घटनामा परी नेता राय गम्भीर घाइते भएर उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पु¥याइएको र सो अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ः०० बजेतिर चिकित्सकले मृत घोषणा गरेको आफन्त असिम दुबेले बताए ।
नेता राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका उम्मेदवार रहनुभएको थियो भने उनले प्रजातान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यसैगरी सोही दुर्घटनामा परी १८ जना अन्य काँग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घाइते भएका छन् भने उनीहरुको उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिक्रिया