बिहीबार, वैशाख १३, २०८१

दूधकोसीको डीपीआर अन्तिम चरणमा, राष्ट्रिय गौरवको आयोजनामा जोड्ने योजना

नेपालखोज २०७६ पुष २३ गते ११:१३

२३ पुष, काठमाडौं । दूधकोसी जलासययुक्त विद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ । ६ सय ३५ मेगावाटको दूधकोसीलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिने ऊर्जा मन्त्रालयले जनाएको हो ।

दूधकोसीको निर्माण लागत १ खर्ब ६० अर्ब रुपैयाँ अर्थात् १ अर्ब ५२ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । आयोजनामा एसियाली विकास बैंक (एडीबी) ले ६० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए । सरकार आयोजनाको बाँकी लगानी जुटाउन स्वदेशी र विदेशी कम्पनीसँगको परामर्शमा रहेको उल्लेख गरे ।

मन्त्री पुनले मंगलबार जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्दै ‘सरकारले दूधकोसी आयोजनालाई उच्च प्राथमिकतामा राखेको बताए । उनले भने, ‘अध्ययन सकिएपछि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिन्छ ।

प्रभावितलाई उपयुक्त मुआब्जा र पर्याप्त अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको छ ।’ आयोजना सम्पन्न हुँदा प्रभावित क्षेत्रका बासिन्दाले रोगजारी पाउनुका साथै विकासका पूर्वाधार निर्माण हुने बताउँदै आयोजना निर्माणमा सहयोगी बन्न स्थानीयलाई आग्रह गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार आयोजनाबाट हुने आम्दानीको २५ प्रतिशत स्थानीय सरकारमै रहनेसमेत मन्त्री पुनले स्पष्ट पारेका छन् ।

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सिमानामा बन्ने यो आयोजनाबाट यस क्षेत्रका स्थानीय तथा प्रदेश सरकार र प्रभावित क्षेत्रका बासिन्दासमेत इच्छुक भए उनीहरूका लागि लगानीको वातावरण मिलाउन सरकार तयार रहेको मन्त्री पुनले बताए । सरकार ठूला जलविद्युत् आयोजनाको प्रवद्र्धनमा लागेको चर्चा गर्दै दुई वर्षको अवधिमा ४ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थप गरेर १३ सय मेगावाट पु¥याउन सफल भएको मन्त्री पुनले बताए ।

मुलुकभरका ८८ प्रतिशत घरधुरीले विद्युत् सेवा उपभोग गरिरहेका छन् । बाँकी १२ प्रतिशत घरधुरीलाई लक्षित गरी दुई वर्ष्भित्र पूर्ण विद्युतीकरण गरिसक्ने योजना सरकारको रहेको छ ।

प्रतिक्रिया