शुक्रबार, चैत १६, २०८०

कोशी टप्पुमा चरा गणना शुरु

नेपालखोज २०७६ पुष २५ गते १२:०९

२५ पुस, इनरुवा । चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा गणना शुरु भएको हो । आरक्षमा पाइने चराको यथार्थ तथ्याङ्क लिन चरा गणना शुरु भएको कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।

चरा गणनाका लागि माइनोकुलर, स्पोट्रिङग स्कोप, डेटा सिट, कम्पास, जिपीएसलगायतका उपकरण प्रयोग गर्ने आरक्षका संरक्षण अधिकृत चौधरीले बताए । आरक्षमा चरा गणना गर्न सातदेखि १० दिनसम्म लाग्ने उनले बताए । आरक्षमा तीन वटा क्षेत्र निर्धारण गरेर चरा गणना गर्न शुरु गरेको संरक्षण अधिकृत चौधरीले बताए ।

आरक्षमा घाँसे मैदान, सिमसार क्षेत्र र नदी तटीय क्षेत्रमा पाइने चराको गणना गरिने कार्यक्रम रहेको उनले बताए । आरक्षमा पहिलो चरणमा घाँसे मैदानमा देखिने चराको गणना गरिने, दोस्रो चरणमा सिमसार क्षेत्रमा पाइने र तेस्रो चरणमा नदी तटीय क्षेत्रमा पाइन चराको गणना गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो ।

चरा गणनाका लागि सात जनाको टोली परिचालित भएको छ । आरक्षमा प्रत्येक वर्ष हिउँदे चरा गणना गर्ने गरेको चौधरीको भनाइ छ । आरक्षमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिका चरा रहेका छन् ।

प्रतिक्रिया