ए डिभिजन लिगः छैटौं चरणको खेल आजबाट शुरु, आज दुई खेल हुने
२६ पुष, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि छैटौं चरणका खेलहरु सुरु हुँदै छ । खेलहरु सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।
छैटौं चरणको पहिलो दिन शनिबार आज २ वटा खेल हुने छन् । पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुने छन् । यो खेल मध्याह्न १२ बजेदेखि सुरु हुने छ । यी दुवै टिम अपराजित छन् ।
आजको खेलमा मछिन्द्र विजयी भए केहीबेरका लागि शीर्ष स्थानमा उक्लने छ भने जावलाखेल विजयी भए दोस्रो स्थानमा पुग्ने छ । साथै तीन जना खेलाडी कारबाहीमा परेकाले मछिन्द्रलाई केही असहज भने हुने छ ।
दोस्रो खेलमा दिउँसो ३ बजे दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा आमने सामने हुने छन् । मनाङ विजयी हुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै तीन अंकको खोजिमा हुने छ । शेर्पाले अहिलेसम्म जित निकाल्न पाएको छैन् ।
प्रतिक्रिया