शनिबार, वैशाख ८, २०८१

सुदुरपश्चिमका थारू माघीको तयारीमा जुटे

नेपालखोज २०७६ पुष २७ गते १७:०४

२७ पुस, धनगढी । धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादाका थारू समुदाय नजिकिँदै गरेको माघी पर्वको तयारीमा जुटेको पाइन्छ । पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइलगायतका कार्यहरु धमाधम भइरहेको गाउँका वासिन्दा हनुमान चौधरीेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटालगायत खानाका पकवानहरु खाने चलन रहिआएकाले दाजुभाइहरु त्यसको खोजीमा जुटेका छन् ।” यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्न स्थानीयवासी गाउँबाट टाढाटाढाका सहरबजार जान थालेका छन् । रोजगारीका लागि विदेसिएकाहरु पर्व मनाउनका लागि घर फर्कन थालेका छन् ।
माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, रक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्नमा समुदायकी युवतीहरुलाई यतिबेला भ्याइनभ्याइ छ ।

पश्चिम नेपालको तराईका थारू समुदायमा यो पर्वमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटालगायतका स्थानीय खानाका पकवानहरु खाने चलन छ । थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । त्यस्तै माघी मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने तयारी पनि शुरु भएका छन् ।

प्रतिक्रिया