बिहीबार, चैत १५, २०८०

इँटा उद्योगका कामदारको घर फर्कने माग

नेपालखोज २०७७ वैशाख ५ गते ९:१२

दाङ । दाङको घोराही उपमहानगरपालिका –१० नारायणपुरस्थित इँटा उद्योगमा कार्यरत मजदूरले आफूहरुलाई घर फर्कने वातावरण मिलाइदिन आग्रह गरेका छन् । लकडाउनसँंगै करीब एक महिनादेखि कामविहीन बनेपछि मनकामना इँटा उद्योग र गोल्ड इँटा उद्योगमा कार्यरत भारतीय श्रमिकले आफूहरुलाई घर फर्कने व्यवस्था मिलाइदिन माग गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

जिल्लाभरका उद्योगमा कम्तीमा सात हजार भारतीय नागरिक रहेको दाङ जिल्ला इँटा उद्योगी व्यवसायी संघले जनाएको छ । दुवै उद्योगमा गरी कम्तीमा पाँच सय भारतीय मजदूर छन् । जिल्लाका प्रतिइँटा उद्योगमा एक सयदेखि २५० सम्म भारतीय मजदूर कार्यरत छन् । उनीहरु भारतीय सीमा जिल्लाका नागरिक हुन् । ती मजदूरसँगै कम्तीमा एक हजार बालबालिकासमेत रहेको बताइएको छ ।

मनकामना इँटा उद्योगमा कार्यरत श्रमिक विश्वनाथ चौहानले आफू जसरी पनि घर जान चाहेको र आवश्यक परे भारतीय क्वारेन्टाइनमा बस्न तयार रहेको बताए । श्रमिक सुनिचा चौहानले आफूसँगै चार शिशु भोकभोकै पर्ने पिरलो मानिन् । उनीहरुले एक महिनादेखि काम नहुँदा पारिश्रमिकसमेत पाएका छैनन् ।

मनकामना इँटा उद्योगका सञ्चालक रोम वलीले लकडाउनका कारण घर जान चाहने श्रमिकलाई चाहेर पनि फर्काउन नसकिएको र पाल्न गाह्रो भइरहेको बताए । उनीहरुलाई घरसम्म पुग्ने वातावरण मिलाइदिन तीनै तहका सरकारबीच समन्वयको अपेक्षा गरेका छन् । उद्योग बन्द भएसंँगै ती श्रमिकलाई सम्बन्धित उद्योगले नै दालचामलको व्यवस्थापन गर्दै आएका छन् । यस्ता श्रमिकलाई स्थानीय सरकारले राहत उपलब्ध गराएका छैनन् ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ती भारतीय श्रमिकलाई घर फर्काउने विषयमा दुवै देशबीच कूटनीतिक पहल हुनुपर्ने बताए । श्रमिकलाई भोकमरीको मारमा पर्न नहुने भएकाले रासनको व्यवस्थापन सम्बन्धित उद्योगले नै गर्नुपर्ने बताउँदै उनले समय लम्बिँदै गएमा दीर्घकालीन समाधानका लागि स्थानीय प्रशासनले समेत पहल गर्ने आश्वासन दिए ।

प्रतिक्रिया