बिहीबार, वैशाख १३, २०८१

कोशी र कमला नदीमा नुहाउनेको भीड

नेपालखोज २०७६ माघ १ गते १४:१४

१ माघ, राजविराज । हिन्दू धर्मलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेहरुको भीड लागेको छ । आजका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेकाले हिन्दू धर्मावलम्बीहरुले कोशी नदीमा नुहाउने गरेका स्थानीयवासी बताउँछन् ।

उक्त नदीमा सुनसरी र सप्तरी तथा छिमेकी राष्ट्र भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका तथा महिला, पुरुषको भीड लागेको स्थानीयवासी राजकुमार माझीले बताए । नुहाउनु अगाडि धर्मावलम्बी हातमा तिल शरीरमा तिलगङ्गा जल आफ्नो जिउमा छर्केर नुहाउने गरेका उनले बताए । नुहाएपछि स्थानीय मठमन्दिर तथा भारदहस्थित रहेको कंकालिनी भगवती मन्दिर र कोशी ब्यारेजमा रहेका हनुमानजीको मन्दिरमा पूजाआजसमेत गर्ने गरिएको पाइएको छ ।

यस्तै सप्तकोशी ब्यारेजबाट निस्केको नहरमा समेत आज बिहानैदेखि कोशी स्नान गर्नेको भीड लागेको हनुमानगर कंकालिनी नगरपालिका–२ का लाल माझीले जानकारी दिए । त्यस्तै सिरहाको कमला नदीमा पनि धनुषा र सिरहाका हजारौँ हिन्दू धर्मावलम्बी आज बिहानैदेखि सो नदीमा पुगेका छन् । कमला र कोशी नदी छेउमा किनमेलका लागि मेलासमेत लागेको जनाइएको छ ।

प्रतिक्रिया