शुक्रबार, वैशाख १४, २०८१

कस्ता हुन्छन् शुक्रबार जन्मने मानिस ?

नेपालखोज २०७८ जेठ २८ गते ५:२५

मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले पनि निर्धारण गर्छ । यद्यपि जन्मबारले मात्र समग्र स्वभाव र भाग्य बताउन सकिँदैन । यसको लागि समग्र कुण्डलीको विश्लेषणको आवश्यकता पर्दछ । ज्योतिषशास्त्रका अनुसार मानिसको साल,महिना,गते,जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्यको निर्धारण हुने हुन्छ ।

शुक्रबार जन्मिएका व्यक्तिहरू सुन्दर हुन्छन् । यिनीहरु गुदीका तहमा कमजोर भए पनि सुन्दरताका कारण सफल भइरहेका हुन्छन् । यी कला क्षेत्रमा रुचि भएका हुन्छन् । यिनको लगाव सँधै कला क्षेत्रमा रहन्छ । यिनको रिस छिटो शान्त हुन्छ । यिनको मुहारमा एक किसिमको चमक हुन्छ । त्यसैकारण यिनलाई धेरै मान्छेले छिटो विश्वास गर्छन् । यिनीहरु बेलाबेला प्रेममा असफल पनि हुन सक्छन् । यिनीहरुको वैवाहिक सम्बन्धमा एक किसिमको शंका उपशंका उत्पन्न भइ नै रहन्छ । यिनीहरु ज्यादै भावुक हुन्छन् । यिनको हातमा पारिवारिक अवस्था जस्तोसुकै भए पनि पैसाको कमी हुँदैन । यिनलाई छिटो सफल भएको देखे पनि यिनीहरुलाई सफल हुन भने निकै समय लाग्ने गर्छ । यिनीहरु कम रिसाउने कारण यिनका मित्रहरुसँग यिनको सम्बन्ध ज्यादै घनिष्ठ रहन्छ ।

यिनीहरु कलाकार, संगितकार, कवि, गितकार, नायक नायिका आदि बनी समाजमा प्रतिष्ठा आर्जन गर्दछन् । यिनलाई पच्छ्याउने मानिसहरु धेरै हुन्छन् । यिनीहरु आवरणको सुन्दरतालाई मन पराउँछन् । यिनको जीवनसाथीको लुक्स पनि अत्यन्तै राम्रो हुन्छ । यिनीहरुलाई प्रेम प्रस्ताव राख्ने मान्छेको लर्को नै लागेको हुन्छ । त्यहि कारण हो यिनीहरुको वैवाहिक जीवनमा खटपट आइराख्ने । यिनीहरु मध्ये थोरै मात्र मान्छे ज्यादा योग्य हुन्छन् । सानै उमेरदेखि कला क्षेत्रमा लाग्नाले यिनले पढाई लेखाईलाई अस्तव्यस्त बनाउन पनि सक्छन् । यिनको परिवारमा यिनीहरु सफल नभएसम्म पेशा परिवर्तनको लागि दबाब बनिररहन्छ । कहिलेकाँहि यी ज्यादा दबाबको कारण घरबाट निकै टाढा गई जीवनमा संघर्ष गर्दछन् । यिनीहरु सफल भएपछि भने परिवारको मुख बन्द हुन्छ ।

यी ज्यादा खर्चिला हुन्छन् । यिनको खर्च खाने कुरामा भन्दा लगाउने कुरामा ज्यादा हुने गर्छ । यी एक्लै हुँदा निकै सस्तो खाने कुरा पनि खान्छन् तर समूहमा यी महंगा रेष्टुरेन्टहरुमा जान मन पराउँछन् । यिनीहरुलाई किसोर अवस्थामा खर्च कम गराउन अभिभावकलाई धौधौ पर्छ । फोहोर गेटअपमा बाहिर निस्कनुभन्दा घरमै बस्न रुचाउँछन् । यिनको कोठामा शृङ्गारका वस्तुहरु धेरै हुन्छन् । यिनले ती वस्तुहरुलाई बडो मेहनत गरी सजाएर राख्छन् । यिनले पाएको अवार्डहरुको प्रचार यी राम्ररी गर्दछन् । यी सफल भएपछि परिवारका हरेक सदस्यलाई सहयोग गर्दछन् । समाजका अरु वर्गको सुविधाको लागि पनि यिनले धेरै ठूलो सहयोग गर्दछन् ।

प्रतिक्रिया