शुक्रबार, वैशाख ७, २०८१

भक्तपुरमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै, प्रधानमन्त्री ओली सहभागी हुने

नेपालखोज २०७६ माघ २ गते ९:५१

२ माघ, काठमाडौं । भक्तपुरमा आज बिहीबार विशेष कार्यक्रमसहित राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ मनाइँदैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन् ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ मूल समारोह समितिका रूपमा भक्तपुर नगरपालिकाले उक्त कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । नगरपालिकाका अनुसार बिहीबार आज माघ २ गते मध्याह्न १२ बजे भक्तपुर नगरपालिका–१० स्थित लामगाल पोखरीमा जम्मा भई ¥याली आयोजना गरिनेछ ।

त्यसअघि ख्वप कलेजबाट भूकम्पसम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउटका तर्फबाट विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्तुति गरिने जनाइएको छ ।

¥यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समिति तथा व्यवस्थापन समितिका पदाधिकारी, ब्यान्डसहित नेपाली सेना, महानगरीय प्रहरी जगाति वृत्त तथा सशस्त्र प्रहरी बलको सहभागिता रहनेछ ।

दिनभर हुने उक्त कार्यक्रममा सिभिल इन्जिनियर र आर्किटेक्चरका विद्यार्थीहरूले मोडल आयोजना प्रदर्शन गर्नेछन् भने अन्य फोटो, चित्रकला र पोस्टर प्रदर्शनीको पनि कार्यक्रम छ । यससँगै माघ भोली ३ गते बिहान ९ बजेबाट लिवास्थित ख्वप इन्जिनियरिङ कलेजको सभाकक्षमा भूकम्प इन्जिनियरिङ विषयमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया