बुधबार, वैशाख १२, २०८१

सभामुख उम्मेदवारको टुंगो लगाउन ओली–प्रचण्डबिच छलफलको तयारी

नेपालखोज २०७६ माघ ३ गते ९:१०

३ माघ, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज शुक्रबार सभामुख उम्मेदवारको टुंगो लगाउने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुख उम्मेदवार टुंगो लगाउने गरी छलफलको तयारी गरेका छन् ।

केही समयको संवादहीनताको अवस्था तोड्दै हिजो बसेको दुई अध्यक्षबीचको बैठक सकारात्मक भएपछि आज पुनः छलफल गरी सभामुख उम्मेदवार टुंगो लगाउने तयारी गरिएको हो । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि लामो समयदेखि प्रतिनिधिसभा सभामुखबिहीन अवस्थामा रहेको छ ।

नेकपाभित्रका पूर्व एमाले र पूर्व माओवादी पक्षधर आ–आफ्नो पक्षका व्यक्तिलाई सभामुख बनाउने प्रस्तावमा अडिग रहेपछि नेकपाले अहिलेसम्म सभामुख उम्मेदवार टुंगो लगाउन सकेको छैन् ।

हिजो अध्यक्षद्वय बीचको छलफल सकारात्मक भएपछि आज उम्मेदवार टुंगो लगाउने र उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । पछिल्लो सहमति अनुसार सभामुख उम्मेदवार पूर्व माओवादी पक्षलाई दिन अध्यक्ष ओली लचक देखिएको जनाइएको छ ।

आज बिहान बालुवाटारमा बस्ने अध्यक्षद्वयको बैठकमा सभामुख उम्मेदवार टुंग्याउनुका साथै चर्चामा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलगायत समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया