लमजुङ–मनाङ जोड्ने सडक अवरुद्ध
लमजुङ । लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । बिहीबारबाट निरन्तर परेको वर्षाले शुक्रबार विहान ११ बजेदेखि विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक अझै खुल्न सकेको छैन । यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिकाको स्याङ्गे, च्याम्चे र नासों गाउँपालिकास्थित सिरन तालमा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौलीका सवइन्जिनीयर सुमन अधिकारीले जानकारी दिए।
सडक माथिबाट पहिरो आएर सडक अवरुद्ध बनाएपछि सडक डिभिजन कार्यालयको ‘जेसिभी’ ले सडक खुलाउने प्रयास भइरहे पनि विभिन्न स्थानमा पहिरो गएकाले समस्या भइरहेको उनको भनाइ छ ।
अवरुद्ध सडक खुलाउँदै गरेपनि फेरि पुनः ढुङ्गा माटो झरिरहेकाले भोलिसम्म नै सडक अवरुद्ध हुन सक्ने उनले बताए । यस सडक अवरुद्ध हुँदा यात्रु तथा अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटकहरु मर्कामा परेका छन् । निश्चित समयमा आफ्नो गन्तव्यमा पुग्न नसक्दा यात्रुहरु बाटोमै अलपत्र परेको बताइएको छ । विदेशी पर्यटकहरु जोखिम मोलेर पहिरो माथिबाटै हिँडडुल गरिरहेका छन् ।
यस सडकखण्डमा यसअघि समेत पटकपटक सडक अवरुद्ध भएको थियो । बेँसीशहर–चामे सडक ६५ किलोमिटर लामो दूरी रहेको छ । यस सडकमा दैनिक दर्जनौँ सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।
प्रतिक्रिया