शुक्रबार, वैशाख १४, २०८१

सभामुख पद : प्रचण्डले कसलाई च्याप्लान् काखी ?

नेपालखोज २०७६ माघ ३ गते १९:२४

टंककला तिमिल्सेना,

काठमाडौँ । पछिल्लो समय संसदको प्रतिनिधिसभामा सभामुखको कुर्सी रित्तो छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा मुछिएपछि उनी सभामुखको पदबाट बाहिरिए । योसँगै सभामुख कसलाई बनाउने भन्ने विषयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्को बहस मात्र भएन, पार्टी नै पूर्व माओवादी र पूर्व एमाले खेमामा विभाजित भयो । आफु निकट व्यक्तिलाई सभामुख बनाउने होडमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालविच पटक पटक भएको गोप्य छलफल सहमतिमा पुग्न सकेन ।

सभामुख पदमा आफ्नो मान्छे ल्याउन पार्टी भित्रैबाट तिव्र दबाब परेपछि दुवै अध्यक्ष अडान कसेर बसे । एकातिर दुई अध्यक्षको आफ्नो अडान अर्कातिर वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पार्टीका अध्यक्षलाई नै चुनौति दिदै गरेको राजिना अस्वीकारले ओली खेमालाई कमजोर बनाउने परिस्थिति सृजना ग¥यो ।

अंकगणितिय रुपमा बलियो देखिएपनि खेमागत बल व्यवस्थापनमा आफु कमजोर भएपछि शुक्रबारको छलफलमा ओली सभामुख पद पूर्व माओवादीलाई दिने सहमतिमा पुगेको स्रोतले जनाएको छ ।

पूर्व माओवादीलाई सभामुख दिनेमा सकारात्मक भएपनि प्रचण्डले अहिले अग्र स्थानमा बोकेका व्यक्तिलाई भने ओलीले स्वीकार गर्ने मनस्थिति बनाएको देखिदैन ।

विशेषगरि प्रचण्डले सभामुखकालागि अघि सारेका हरिबोल गजुरेल, देव गुरुङ, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल मध्ये सापकोटालाई ओलीले रुचाएका छैनन् । ओली सापकोटालाई कुनै हालतमा पनि सभामुख बन्नबाट रोक्ने मनस्थितिमा पुगेका छन् ।

पूर्व माओवादी स्रोतका अनुसार प्रचण्डले सापकोटाको विकल्पका रुपमा हरिबोल गजुरेललाई अघि सारेका छन् । गजुरेलको नाममा ओली पनि केही बढिनै सकारात्मक देखिन्छन् । गजुरेल पार्टीगत धारणाबाट बाहिर नजाने प्रवृत्तिका देखिएकाले पनि ओली उनीप्रति सकारात्मक भएको स्रोतको भनाई छ । यस पहिले कृषि मन्त्री रहँदा गजुरेलले ओलीकै सहयोगमा काम गरेकाले दुवै अध्यक्षको कुरा गजुरेलमै गएर मिल्ने करिब पक्का देखिएको छ ।

त्यसो त पूर्व माओवादीबाट सभामुखमा देव गुरुङ र पम्फा भुसालको सम्भावना पनि प्रवल देखिन्छ । सभामुख पदको यस रस्साकस्सीमा राजनीतिक खेलको जीत कसको नाममा हुने हो त्यो यसै भन्न सकिन्न् । तर, अहिलेकै परिस्थिति हेर्दा हरिबोल गजुरेलको सम्भावना उच्च छ ।

प्रतिक्रिया