मंगलबार, माघ १, २०८१

अधिकांश मानिसहरु अकालले मर्छन्

नेपालखोज २०७६ माघ ४ गते १४:३०

“काल नआई मर्दैन” भन्ने कहावत पूर्णतया झुठ, अवैज्ञानिक र असत्य हो । नेपाल लगायत अल्पविकसित देशका गरिब, निमुखा र विपन्नवर्गका सर्वसाधारण जनताहरु पन्चाननब्बे प्रतिशतभन्दा बढी काल नआई अकालमै मर्दछन् । पण्डित, पुरोहित, पादरी, रबाई, मुल्ला र इमामहरु तथा अन्य तथाकथित धर्मगुरुहरुले जतिसुकै बखान गरेतापनि कालै नआइकन उपचारको अभावमा अकालबाट असंख्य मानिसहरु हजारौंको संख्यामा प्रतिदिन मरिरहेका छन् ।

Advertisement

यो कटु सत्य हो, ध्रुव सत्य हो । यसका पक्षमा वकालत गर्ने हामीसँग असंख्य वैज्ञानिक आधारहरु छन् जसमध्ये उदाहरणार्थ डिपथेरिया (diptheria), जसलाई भ्यागुते रोग भन्दछन् , समयमा उपचार हुन पाए अवश्य निको हुन्छ नपाए मृत्यु अवश्यभावी छ । काललाई पराजित गर्ने वा उसको अगाडि लम्पसार परी आत्मसमर्पण गर्ने पीडित पक्षको आर्थिक अवस्था, स्वास्थ्य सेवा सुविधामा निर्भर गर्दछ, यो भयो भ्यागुटे रोगको सन्दर्भ ।
यस्ता कयौं जीवाणुको संक्रमण(bacterial infection) बाट हुने रोगहरु छन् । जुन रोगीलाई समयमा उपचार गरे निश्चितरुपमा निको हुने हुन्छ र उपचार नभए वा नगरे मृत्यु फेरि अवश्यंभावी हुन्छ । संक्रमित हुने तर नसर्ने कतिपय यस्ता जटिल रोगहरु छन् जसलाई उपचारको माध्यमद्वारा रोगीको आयु केही वर्षको निमित्त भए पनि लम्ब्याउन सक्ने हुन्छ । उपचारमा रहेका यस्ता अवस्थाको बिरामीलाई कालले तुरुन्तै आफ्नो वसमा लिन सकिदैन, यो साश्वत सत्य हो । त्यस्तै यस बाहेक यस्ता रोगहरु प्नि थुपै्र छन्, जसलाई शल्यक्रियाबाट पूर्णरुपमा निको पार्न सकिन्छ तर नगरेमा अकालमै ज्यान गुमाउनु पर्ने हुन्छ ।

यसकारण “काल नआई मरिन्न” भन्ने मान्यतामा कुनै सत्यता छैन । ठूल्ठूला दुर्घटना जस्तै विमान दुर्घटना जसमा सयौं यात्रुहरुको मृत्यु हुन्छ तर यदाकदा एकाध जना बचेको पाइन्छ । यस्ता दुर्घटनालाई लिई काल नआएकाले नमरेको भन्ने वकालत गरिन्छ तर कालसँग यसको कुनै सरोकार छैन अपवाद भनेको जहाँ पनि हुन्छ । अब म यस लेखको खास विषयवस्तुतिर केन्द्रित हुन चाहान्छु ।

कुरा हो आमाको गर्भबाटै मुटुको रोगबाट आक्रान्त भई जन्मेका अबोध बालबालिकमहरु, जुन सयौंको संख्यामा उपचारार्थ फोर्टिस एस्कार्टस हर्ट इन्स्टिच्युट(Fortis Escorts Heart Institute)मा हामीले भेटेका थियौं । भारतका विभिन्न स्थानहरुबाट उपचारका निमित्त ल्याइएका मुटुरोगका यी शिशुहरुमध्ये सबभन्दा कम उमेरका हिहु हुन दुई महिनाको । त्यसपछि चार महिनादेखि बाह्र वर्षसम्मका नानीहरु सफल शल्यक्रिया पश्चात स्वस्थ भई घर फर्केका हामीले देख्यौं ।

यी नानीहरुका बहुसंख्यक अभिभावकहरु संभ्रान्त परिवारका देखिन्थे । यिनीहरुका लवाई, खवाई, रवाफ, कुरा गराई र यिनीहरुले प्रयोग गर्ने गरिरहेका सवारीका साधनहरु जस्तै BMW, Mercidez, Audi, Farari आदि सुविधायुक्त चिल्ला गाडिहरुले यो वर्गको आर्थिक हैसियत स्पष्ट देखिन्थ्यो । यस्ता पारिवारिक पृष्ठभूमिका बालबालिकाहरु वातानुकूलित सुविधा सम्पन्न युक्त कोठाहरु स्युट, सुपर, डिलक्स (SUITE, SUPER, DELUX) मा भरिभराउ देख्यौं ।
त्यसपछि मध्यम वर्गीय अभिभावकहरु जसका रोगी शिशुहरुलाई सेमी क्याबिन, क्याबिन (SEMI CABIN, CABIN ) र जनरल बेड (GENERAL BED)मा हामीले भेटायौं । निम्नमध्यम वर्गका शिशुहरु स्वभावतः जनरल बेड (GENERAL BED)मा हुनेनै भयो । यसबाहेक विपन्न पारिवारिक पृष्ठभूमिबाट भएपनि रोटरी क्लब आदि विभिन्न गैरसरकारी संघ संस्थाको सहयोगबाट उपचारार्थ ल्याइएका शिशुहरु जनरल बेड (GENERAL BED ) बाहेक फाट्टफुट्ट रुपमा क्याबिन (CABIN ) र सेमी क्याबिन (SEMI CABIN)मा पनि भर्ना भई रहेका हामीले पायौं ।

बिरामी भर्ना गराउने सम्बन्धमा कस्तो खाले सुविधायुक्त कक्षमा गर्ने भन्ने कुरामा आआफ्नो हैसियत, इच्छा र अस्पतालमा उपलब्ध हुने कोठामा भर पर्दछ । कतिपय व्यक्तिहरुले स्युट, सुपर डिलक्स, डिलक्स क्याबिन – SUITE, SUPER DELUX,DELUX CABIN ) नपाएकोले सेमी क्याबिन (SEMI CABIN) या जनरल बेड (GENERAL BED ) मा आÏनो बच्चा राख्नुपरेको गुनासाहरु पनि यदाकदा हामीले सुन्ने गरेका छौं । त्यसको ठीक विपरीत संघ संस्थाहरुको सहयोगमा उपचारमा आएका विपन्नवर्गका शिशुका अभिभावकहरुले आफुहरुले उपयोग गर्न पाएका सुविधाहरुबाट उचित प्रयोग गर्न नजानेको कारणबाट उनीहरुको मुखार बिन्दुमा लघुताबोधका साथ हीनताबोधको भावना झल्किन्थ्यो ।
बिरामी भर्ना हुने कोठाहरुका सुविधाहरु र लाग्ने खर्चमा धेरै भिन्नता देखिएतापनि, शल्यक्रिया र तत्पश्चात आई.सी.यू.(Intensive Care Unit) र पोष्ट अपरेटिभ रुम (Post Operative Room)मा बिरामीहरुलाई प्राप्त हुने सुविधाहरु पूर्णरुपले एक समान हामीले पायौं । अस्पतालमा कार्यरत सबै कर्मचारीहरुले आआफ्नो स्थानबाट आफुले पाएको जिम्मेदारी सही रुपले पालना गरी रहेका हुन्छन् । यस सन्दर्भमा हामीले प्रत्यक्षरुपले देखेको एउटा चाख लाग्दो घटना यहाँ उल्लेख गर्न चाहान्छु ।

अस्पतालमा भर्ना भइरहेका बिरामीहरुलाई प्रत्येक दिन भेट्ने समय अपरान्ह ५ बजेदेखि ७ बजेसम्म र आइतबार तथा अन्य विदाका दिनहरुमा बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म पनि निर्धारित गरिएको छ । यी निर्धारित समयमा बिरामी समक्ष पुग्न पूर्व बिरामीको नाम, वार्ड र बेड नम्बरको हुलिया जानकारी गराएपछि रिसेप्सनमा कार्यरत कर्मचारीले कम्प्युटरमा चेक गरिसकेपछि लेमिनेशनयुक्त आगन्तुक अनुमतिपत्र एक पटकमा एक जनालाई उपलब्ध गराइन्छ ।

भिजिटर पास प्राप्त पश्चात् सम्बन्धित लिफ्टबाट आआफ्नो गन्तव्यतिर लाग्नु पूर्व लिफ्ट चालक तथा सुरक्षा गार्डको हैसियतमा लिफ्ट बाहिर टिलिक्क परेको युनिफर्ममा ठाँटिएर उभिएका सुरक्षा गार्डसमक्ष आफूले प्राप्त गरेको आगन्तुक अनुमतिपत्र बुझाएपछि झिम्ती झोला केही आफुले बोकेको भए त्यसको जाँच पडतालपछि गार्डको अनुमतिमा एकपटकको संचालनमा तेह्रजनासम्म एकै चोटि लिफ्टमा छिर्न पाइने व्यवस्था छ ।

सोही अनुसार भित्रपसी आफू कुन तलामा लिफ्टबाट बाहिरिने हो सोही बमोजिमको संकेत नम्बरमा औंलाले थिचि भित्र बाहिर हुने कार्य निरन्तर चलिरहन्छ । एक दिनको कुरा, म र भान्जी रजनी भिजिटर पासमा उल्लेख भएको निर्धारित समयमा सम्बन्धित लिफट अगाडि उभिन पुग्दा दुईजना संभ्रान्त परिवारका सदस्य देखिने व्यक्तिहरुले दुई कप चियाका साथै सुन्दर प्याकिङ पेपरले प्याक गरेका दुईवटा समोसा आफूसँगै लान खोजेका थिए तर गार्ड महाशय उनीहरुको हप्काई दप्काई, त्यसपछिका अनुनय विनयको बाबजुत आफनो कर्तव्यमा अडिक रहेको बेला केही सीप नलागेपछि गार्ड र हामा्रे बिचमा भएको सामान्य बोलचाललाई निहु बनाई “हाम्रो विरुद्घ तिमीहरु कुन भाषामा के कुरा गरेको” भनेर विषयवस्तुलाई अन्तै मोड्ने प्रयास गर्दा “हामी आफना देसका मित्रहरुसंग गरेको मित्रवत कुराको यर्थाथ तपाईलाई जानकारी दिन के खाँचो ।

खानेकुरा कहाँ राख्नु पर्छ राखेर लिफ्ट उपयोग गर्ने भए गर्न सक्नुहुन्छ नभए बाटो तताउनुहोस । मलाई आफनो काम गर्न दिनुहोस्, नचाहिने वादविवाद गर्न मलाई फुर्सद छैन ” भनी आफना अडानमा कार्य मै रहेपछि फटफटाउदै उनीहरु कालोनिलो हुँदै लिफटको प्रयोग बिना फरक्क फर्के ।

अस्पतालमा तीन किसिमको पास वितरण हुँदो रहेछ । २४ घण्टा पास (24 hour attendant pass ), आगन्तुक पास (visitor pass ) र पटके पास( one time pass ) । सबै पासहरुमा सातवटा बुँदाहरु र अर्को पृष्ठमा बिरामीलाई भेट्ने समय उल्लेख गरिएको छ । बुँदा नम्बर ४ मा please ensure there is only one attendant at any given time। कुनै पनि दिइएको समयमा एकजना व्यक्तिमात्र जान सकिनेछ भन्ने अर्थ ५ र ६ नम्बरमा outside eatables/ flowers are not allowed in premises 2 visitors below 12 yrs. Not allowed अस्पतालको प्राङणभित्र बाहिरबाट ल्याएका खानेकुराहरु/फुलका गुच्छाहरु निषेध गरिएको छ भने अर्को बुँदामा १२ वर्षमुनिका बालबालिकाको प्रवेशलाई पनि पूर्ण रुपमा निषेध गरिएको छ ।
अनुमतिपत्रमा उल्लिखित सबै बुँदाहरु पलन गर्न गराउन आआफ्नो स्थानबाट खटिएका सबै कर्मचारीहरु दत्तचित्त छन् । कर्मचारीहरुको कर्तव्य परायणताको कारण शल्यक्रियाको माध्यमबाट स्वास्थ्य लाभ गरिरहेका मुटुको रोगले पीडित बिरामीहरुलाई धेरै नै लाभ भइरहेको हामीले महशुस गरिरहेका छौं । यी अबोध बालबालिकाहरुका अभिभावकले मुटुको जटिल रोगबाट पीडित शिशुहरुलाई यथासमयमा यस अस्पतालको उपचरार्थ नल्याएको भए तिनीहरुको मृत्यु अवश्यभावी थियो । यी सबै भविष्यका कर्णधारहरुको अकालमै ज्यान जाने पक्कै थियो ।

प्रतिक्रिया