मंगलबार, वैशाख ४, २०८१

‘जनताको जनवादका आधारहरु’ बजारमा

नेपालखोज २०७६ माघ ६ गते १८:०६

६ माघ, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक कार्यदिशामा आधारित गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ पुस्तक बजारमा आएको छ । इण्डिको इङ्क प्रकाशनले प्रकाशन गरेको पुस्तकमा जनताको जनवादका मुख्य आधार प्रस्तुत गरिएको छ ।

पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र, २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको घोषणा गरेपछि नेकपाले राष्ट्रका नाममा गरेको अपिल र पुष्पलालको लेख ‘मूलबाटो’का मूल अंश समावेश छन् । यसलाई नेकपाको एकीकृत अवस्थाको खण्डका रुपमा पुस्तकमा राखिएको छ ।

पुस्तकको दोस्रो खण्डमा तत्कालीन नेकपा ९एमाले० का ऐतिहासिक दस्तावेजका मूल अंश समावेश गरिएका छन् । दोस्रो खण्डमा मुख्यतः जननेता मदन भण्डारीद्वारा प्रस्तुत एवं पारित ‘जनताको बहुदलीय जनवाद’सम्बन्धी दस्तावेजका मूल अंश समावेश छन् । पुस्तकमा २०४९ सालमा पारित जनताको बहुदलीय जनवादलाई प्रारम्भमा पार्टीको राजनीतिक कार्यक्रमका रुपमा स्वीकार गरिएको र तत्कालीन एमालेको छैटौँ महाधिवेशनले त्यसलाई राजनीतिक कार्यदिशाका रुपमा ग्रहण गरेको कुरालाई मुख्यरुपमा प्रस्तुत गरिएको छ ।

यसका साथै पुस्तकको दोस्रो खण्डमा जनताको बहुदलीय जनवादबारे तत्कालीन नेकपा ९एमाले० ले सातौँ, आठौँ र नवौँ महाधिवेशनमा गरेको संस्लेषण र समीक्षालाई पनि प्रस्तुत गरिएको छ । पुस्तकको उक्त खण्डले तत्कालीन नेकपा ९एमाले० को विचारधारात्मक विकासको शृङ्खला बुझ्न सजिलो हुनेछ ।

प्रतिक्रिया