शुक्रबार, असार १, २०८१

शिक्षा,स्वास्थ्य र रोजगारी मौलिक अधिकार हो : सांसद बस्नेत

नेपालखोज २०७६ माघ ६ गते १९:०६

६ माघ, काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कुराहरुमा मानिसको मौलिक अधिकार भएको उल्लेख गर्दै उपचार नपाएर मानिसको अकालमा ज्यान जाने अवस्थाको अन्त्य गर्नु अहिलेको मुख्य चुनौति रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको  पनौती नगरपालिका वडा नं. ६ दूध मिल काभ्रेमा भैरव अस्पताल प्रा.ली.द्वारा ४० करोडको लागतमा १०० शैया सहितको सेवा प्रदान गर्ने लक्ष्यका साथ भवन निर्माणको शिलान्यास गर्दै सांसद बस्नेतले शिक्षा र स्वास्थ्यका क्षेत्रहरुमा सरकारले नै व्यवस्था गर्नुपर्ने जिम्मेवारी भएता पनि सार्वजनिक, नीजि तथा सहकार्य गरी गर्नु अहिलेको नेपालको अवस्थामा अपरिहार्य रहेको औल्याए । उनले सरकारले विभिन्न रोगलाई दिएको सहयोग तथा स्वास्थ्य वीमालाई प्रभावकारी प्रयोग तथा उपयोग गर्नुपर्नेमा जोड दिए

७० वर्ष माथिका वृद्धवृद्धालाई एक लाख सम्मको उपचार खर्च व्यहोर्ने प्रक्रिया अघि बढाएको जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले अविकसितबाट अल्पविकसित मुलुकको बाटोमा अघि बढिरहेको अवस्थामा सांसदको भूमिका नीति निर्माणमात्र नभई विकासको पहलकर्ताको रुपमा समेत रहनुपर्ने बताए।

काभ्रे र भक्तपुरलाई जोड्ने विभिन्न सडकहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउँदै बस्नेतले काभ्रे र भक्तपुर अविकसित हैन अब विकसित जिल्लाको रुपमा परिचय बदल्दै लगेको बताए । कार्यक्रममा १५ वेडको अस्पताल नपाको र १०० बेडको प्रदेश सरकारको मातहतमा रहने प्रावधान रहेको समेत जानकारी गराइएको थियो ।

 

प्रतिक्रिया