शुक्रबार, चैत १६, २०८०

बैतडीमा गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी, अध्यक्षको घरमा बम फेला

नेपालखोज २०७६ माघ ८ गते ९:३८

८ माघ, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार आज बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।

यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ । गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै आएका थिए ।

डिलाशैनी गाउँपालिका ३ पन्सेरास्थित अध्यक्ष पालकै घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ ।

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ ।

डिलाशैनी गाउँपालिका केन्द्रको बिषयमा लामो समयदेखिको विवाद कायमै छ । राज्य पुनर्संरचनाका क्रममा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भएपनि हाल सम्पूर्ण कामकाज वडा नं ३ वाट हुँदै आएका छन् ।

नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ ।

प्रतिक्रिया