शुक्रबार, वैशाख १४, २०८१

साझा यातायातलाई दिएको ३ अर्ब रकम ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

नेपालखोज २०७६ माघ ९ गते १७:४५

९ माघ, काठमाण्डौ । सरकारले विद्युतीय बस किन्नका लागि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ । बिहीबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेकाले उक्त रकम ब्याजसहित लिने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषद्को २०७६ असार २४ र २९ गतेको बैठकले साझा यातायात सहकारी लिमिटेडलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालन गर्न सरकारले शेयर लगानीबापत ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । मन्त्री बाँस्कोटाले २०७५ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको र सरकारका तर्फबाट अर्थमन्त्रालयले ३ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत भएको बताए ।

मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको २०७६ माघ १२ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृतसमेत गरेको छ । यस्तै निगमको सञ्चालक सदस्य पदमा मन्त्रालयका सचिवलाई तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया