बिहीबार, चैत १५, २०८०

अवैध रकमसहित कञ्चनपुरबाट बावु छाेरा पक्राउ

नेपालखोज २०७७ फागुन १३ गते १०:४१

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ ।

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ वर्षीय छोरा प्रयाससिंह ठकुरीलाई बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

अवैध बाटोको प्रयोग गरी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा भारतीय रुपैयाँ २ हजार दरको ६३ थान र ५०० दरको ३ सय ४८ थान गरी भारतीय ३ लाख रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

दुवैबाट नेपाली रकम रु २७ हजारसमेत बरामद भएको छ । “भारतीय र नेपाली रकम गरी दुवैबाट रु पाँच लाख सात हजार रकम बरामद भएको छ”, उनले भने, “यसका अतिरिक्त कुकुर बाँध्ने गोल्डेन कलरको दुई थान चेनसमेत बरामद गरिएको छ ।” विदेशी मुद्रा अपचलनअन्तर्गत कानूनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बरामद रकमसहित दुवैलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरको भनाइ छ ।

प्रतिक्रिया