ओली–खनाल वार्ता : सुध्रिएला सम्बन्ध ?
काठमाण्डौ । लामो समयदेखि विश्वासिलो सम्बन्ध नभएका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता झलनाथ खनालबीच शुक्रबार लामो छलफल भएको छ । आफ्ना निकट र विश्वासिला पात्र सुवास नेवाङलाई सभामुख बनाउन असफल भएका ओलीले अर्का अध्यक्ष प्रचण्ड चितवन पुगेका बेला अकस्मात वरिष्ठ नेता खनाललाई बालुवाटार बोलाएका थिए । विहान १० बजेदेखि झण्डै २ बजेसम्म दुई नेताबीच छलफल भएको थियो ।
छलफलका क्रममा केही अनौपचारिक र केही औपचारिक छलफल भएको बताइएको छ । खासगरी पछिल्लो समयमा पार्टीभित्र देखिएको असहज परिस्थितिका बेला ओली र खनालबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले अघि सारेका सभामुखका उम्मेदवार अग्नि सापकोटालाई पूर्व एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल तथा वामदेव गौतमले समेत समर्थन दिएपछि ओली आफ्ना पूर्व सहयोद्धाहरुबाट सशंकित भएका थिए । त्यसको साथै सचिवालयमा नै उनी अल्पमतमा पर्न सक्ने देखेपछि उनले आफ्ना पूर्व एमालेका नेताहरुसँगको चिसिएको सम्बन्धलाई सुधार्ने कडिका रुपमा समेत यो भेटघाटलाई लिएको छ ।
विदेशमा रहेका बेला पार्टी एकता गर्ने क्रममा आफूलाई वरिष्ठ नेताको वरीयतामा तल पारिएको भन्दै खनाल ओलीसँग असन्तुष्ट थिए । तर, गत ३ भदौको सचिवालय बैठकले उनकै मागअनुसार वरीयता सच्याइएपछि भने ढिलै भए पनि पार्टीले न्यायोचित निर्णय गरेको खनालले प्रतिक्रिया दिएका थिए ।
पार्टी सञ्चालनलगायत विषयमा प्रचण्डपछि ओलीले खनाललाई भन्दा नेपालसँगको संवादलाई प्राथमिकता दिने गरेका छन् । तर, गत ५ भदौमा ओली–नेपाल सम्बन्ध तिक्ततामा परिणत भएपछि उनीहरूबीचको सम्बन्ध व्यक्तिगत रूपमा अझै सुमधुर भइसकेको छैन । यद्यपि, ओली–नेपालले गत २९ कात्तिकमा करिब ४ घन्टा लामो छलफल गरेर तिक्तता सम्बन्धको समीक्षा गर्दै सुमधुर बनाउने प्रयास गरेका थिए ।
प्रतिक्रिया