बुधबार, वैशाख १२, २०८१

आस्थाको आस्था र प्रहरीको प्रवृत्ति

अम्बिका शर्मा २०७६ माघ ११ गते ६:००

कर्णले भगवान् श्रीकृष्णलाई सोधेछन्, ‘मेरी आमाले मलाई जन्मिँदै त्यागिन् । द्रोणाचार्यले मलाई शिक्षा दिन इन्कार गरे । द्रौपदीको स्वयम्बरमा मलाई अपमानित गरियो । मेरो के अपराध थियो ?’

कृष्णले मुस्कुराउँदै जवाफ दिएछन्, ‘कर्ण, मेरो जन्म जेलमा भयो । मेरा मामाले जन्मिँदै मलाई मार्ने षडयन्त्र गरे । जन्मेकै रात मलाई बुवा–आमाबाट छुट्याइयो । न कुनै शिक्षा, न त कुनै महल, गोबर सोहर्दै, गोठालो लाग्दै हुर्किएँ ।’

कृष्णले थपे, ‘कसलाई कति अपमान भयो वा कसमाथि कति अन्याय भयो भन्नेले केही अर्थ राख्दैन । किनकि, हामीले जीवनमा यो भोग्नैपर्छ कुनै न कुनै रूपमा । कसैले धेरै, कसैले थोरै । बरु अर्थ त्यसले राख्छ– जीवन कसले कति सार्थक बनायो । चुनौतीलाई कर्म, ज्ञान र विद्वताले कसले कति जित्यो ।’

यो आध्यात्मिक सन्देशलाई आत्मसात गर्ने हो भने समाजमा अपमान, अन्याय र असन्तुष्टि रहँदै रहँदैन । विमानस्थलमा भएको आस्था राउतको काण्ड यस्तै अज्ञानताको उपज हो । प्रहरीले थोरै मिठासपूर्ण अनुरोध गरेको भए वा आस्थाले अलि बढी वौद्धिक बनिदिएको भए यो घटना हुनै पाउने थिएन । त्यसैले यसका पक्ष–विपक्षमा जे–जति तर्क-वितर्क भइरहेका छन्, तिनलाई वस्तुनिष्ठ ढंगले केलाउने प्रयास यहाँ मैले गर्न खोजेको छु ।

हाम्रो नेपालमा एउटा रोग छ– थोरै प्रगति गर्नासाथ बडप्पन देखाइहाल्ने । आस्था लोकप्रिय गायिका मात्र होइनन्, महिला भएर पनि हक्की गति गाउने गायिका समेत हुन् । उनका गीतबाट महिला प्रेरित हुन्छन् । अघि बढ्न हिम्मत बटुल्छन् । वजनदार स्वरकी धनी उनी प्रेरणादायी गीत नै बढी गाउँछिन् । राष्ट्रियताका आवाज बुलन्द पार्छिन् ।

त्यही भएर उनको क्रेज बढ्दो छ । युवा पुस्ता उनका फ्यान छन् । तर, उनको उचाइको मापन व्यवहार पनि हो । कुनै पनि सेलिब्रेटी कानुनभन्दा माथि होइनन् । राज्यका नीति–नियम र सुरक्षाका उपाय सबैले मान्नैपर्छ । आस्था त्यसको अपवाद होइनन् । विमानस्थलमा सुरक्षा जाँच सबैलाई लागू हुन्छ । त्यसमा उनले बडप्पन देखाएर पन्छिन खोज्नु, आफूले लगेको कफी त्यत्तिकै छाडेर हिँड्नु, अपशब्दद्वारा प्रहरीलाई गाली गर्नु, औंला ठड्याएर चुनौती दिनु वास्तवमा शोभनीय कार्य होइनन् । उनलाई फिटिक्कै सुहाएन ।

यस प्रकरणमा बाहिरिएको सीसीटीभी फुटेजमा आवाज छैन । कसले के भनेको छ, बुझिँदैन । छानबिनले पक्कै त्यसको निर्काैल गर्ने नै छ । झट्ट हेर्दा आस्थाकै आस्थामा बढ्ता खोट देखिन्छ । धेरै कलाकार र उनका शुभचिन्तकले त्यसमा चिन्ता व्यक्त गरेका छन् । माफी माग्न सुझाएका छन् ।

अर्कातिर, प्रहरीको व्यवहार पनि आम नागरिकका लागि टिप्पणीयोग्य छ । सर्वसाधारण प्रहरीका हैरानीबाट आजित छन् । अनावश्यक दुःख दिने मनसायबाट ती परिचालित छन् । नारा छ– ‘मुस्कानसहितको सेवा ।’ तर, व्यवहारले ‘ठुस्कानसहितको सेवा’ देखाउँछ । मुस्काउनु त परै जाओस्, प्रायः ठुस्किएकै हुन्छन् । झर्किएकै हुन्छन् । सर्वसाधारणको मानभन्दा अपमान बढ्ता गर्छन् । त्यसमा पनि सुधार हुनु जरुरी छ ।

जे–जसो भए पनि आस्थाविरुद्ध प्रहरीले पुर्जी जारी गरेको छ । सिक्किमबाट फर्किनासाथ उनी पक्राउ पर्ने सम्भावना छ । त्यसलाई लिएरसमेत दुःख व्यक्त गर्दै आएका छन् । खासमा जे भयो–भयो, तिललाई पहाड नबनाउँदै उचित हुन्छ । समस्या हो– मान्छेको आचरणको । दवै पक्षले आचरण सुधार्नु आवश्यक छ । सेलिब्रेटी हुँदैमा कानुनभन्दा दुई हात माथि ठान्ने रोग त्याग्नुपर्छ ।

अर्कातिर, प्रहरीले पनि नागरिकको सेवक र सहयोगी बन्न सक्नुपर्छ । सुरक्षाका नियम देखिने गरी राख्नुपर्छ । नजान्ने-नबुझ्नेलाई सम्झाउनुपर्छ । नटेर्नेलाई भद्रतापूर्वक कानुनी दायरामा ल्याउनुपर्छ ।

यस प्रकरणमा धन्न महिलै महिलाको विवाद भएकाले लैंगिक रूप लिन पाएन । दुईमध्ये एक जना पुरुष भएको भए ‘महिलामाथि अन्याय’ पक्कै भनिने थियो । आस्थाले त सामाजिक सञ्जालमा भन्न भ्याएकै छिन्, ‘एउटी महिलालाई अर्की महिलाले यस्तो अपमान गर्ने ?’

भगवान् श्रीकृष्णले त्यसै भनेका होइनन्, ‘अन्याय र अपमान भोग्य विषय हुन् । तिनलाई आफ्नो विद्वताले जित्नुपर्छ ।’ दुईमध्ये एकमा यो ज्ञान उब्जिएको भए यत्रो लफडा हुने नै थिएन । यसबाट लिने ठूलो पाठ पनि यही हो ।

प्रतिक्रिया