शुक्रबार, चैत १६, २०८०

ज्वरो र रुघाखोकीको औषधि अभावमा हुम्लामा तीन सातामा सातको मृत्यु

नेपालखोज २०७६ माघ १२ गते ९:४४

१२ माघ, हुम्ला । हुम्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्न पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ज्वरो र रुघाखोकीका कारण सातजनाको मृत्यु भएको हो ।

चंखेली गाउँपालिका–६ मासिधाराका ४५ वर्षीय मदन शाही, ५० वर्षीय जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीय गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ । उनीहरु सबैको पुस २६ मृत्यु भएको हो ।

त्यस्तै, सार्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको जनाइएको छ । जिल्लाका विभिन्न गाउँमा फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले सिजनल फ्लु भनेका छन् । तर, स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको छ ।

चंखेली–६ मासिधाराका हीराबहादुर शाहीले गाउँका सबै घरका बिरामी भएको र वृद्धवृद्धा र बालबालिका बढी जोखिममा भएपनि स्वास्थ्य संस्थामा औषधि अभाव रहेको बताउनुभयो । गाउँमा प्रकोप फैलिएर बिरामीहरु मर्न थालेपनी सम्बन्धित निकायलाई कुनै चासो नभएको उहाँले गुनासो गर्नु भयो  ।

प्रतिक्रिया