ओली–प्रचण्ड बैठकमा के निर्णय भयो ?
काठमाण्डौ । आज विहान ८ बजेदेखि बसेको नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक सकिएको छ ।
बैठकमा द्वन्द्वकालीन मुद्दा, उपसभामुख चुनाव, केन्द्रीय कमिटी बैठक र विभिन्न निकायका नियुक्तिका बिषयमा छलफल भएको श्रोतले बताएको छ ।
यसैबीच आजै ३ बजेको संसदको बैठकबाट निर्विरोध चयन हुने सभामुख अग्निप्रसाद सापकोटाको शपथ ग्रहण कार्यक्रमपनि आजै हुने सम्भावना छ । स्रोतका अनुसार, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि आजको भेटवार्तामा सापकोटाको शपथ ग्रहणका विषयमा छलफल गरेका छन् ।
पार्टीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध चयन भए पनि उपसभामुख उम्मेदवार कसलाई बनाउने भन्ने नेकपाले तय गर्न सकेको छैन । उपसभामुखका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) मुख्य रुपमा दावेदार देखिएका छन् ।
यसमध्ये प्रचण्ड उपसभामुखको जिम्मेवारी नेपाली कांग्रेसलाई दिनुपर्ने पक्षमा छन् भने ओली राजपाबाट उपसभामुख बनाउनुपर्ने पक्षमा छन् । यद्यपी, ओली(प्रचण्डबीच आजको भेटवार्तामा नेकपा केन्द्रीय कमिटी बैठकबारे छलफल भएको बताइ्एको छ । नेकपाले केन्द्रीय कमिटी बैठक १५ माघका लागि बोलाएको छ ।
प्रतिक्रिया