शनिबार, वैशाख १३, २०८२

पत्रकारहरुमाथि कुटपिट गरेको आरोपमा जनकपुरका मेयरविरुद्ध पत्रकार महासंघको किटानी जाहेरी

नेपालखोज २०७६ माघ १२ गते १४:४१

१२ माघ, जनकपुरधाम । पत्रकारहरुमाथि कुटपिट गरेको घटनामा नेपाल पत्रकार महासंघ धनुषाले जनकपुरका मेयर विरुद्ध किटानी जाहेरी दिएको छ । धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध आज आइतबार किटानी जाहेरी दिएका छन् ।

गत पुस २२ गते उपमहानगरका प्रमुख साहको कार्यकक्षमै प्रतिक्रिया लिन पुगेका कान्तिपुर टिभीका सम्वाददाता अमरकान्त ठाकुरमाथि हातपात भए पछि घटनाको विषयमा कुरा गर्न पुगेका अध्यक्ष मिश्रविरुद्ध पनि अपशब्द प्रयोग गरिएको थियो ।

सोही विषयलाई लिएर अध्यक्ष मिश्रले आइतबार आज जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका हुन् । पुस २२ गते मेयरकै कक्षमा पत्रकारहरु माथि भएको हातपात घटनापछि उत्पन्न परस्थितिलाई साम्य पार्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख प्रदीपराज कणेलको संयोजनमा उपमहानगर र महासंघ बिच घटनामा संलग्न दोषीहरुलाई कानूनी दायरामा ल्याउने सहमति भएको थियो ।

सो सहमति भएको दुई साता बितिसक्दा समेत दोषीहरुलाई कानूनी दायरामा नल्याएकोले घटना घटाउने मेयरविरुद्ध किटानी जाहेरी दिनु परेको महासंघका अध्यक्ष मिश्रले बताए ।

प्रतिक्रिया