बिहीबार, चैत १५, २०८०

सभामुख सापकोटाले भने, ‘जनतामा आशा र विश्वास बढ्छ’

नेपालखोज २०७६ माघ १३ गते १५:३०

काठमाण्डौ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताएका छन् ।

सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताए । ‘हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँछु’ , उनले भने , ‘केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्नेछु ।’

सभामुखमा निर्वाचित भएलगत्तै अब आफ्नो सम्पूर्ण ध्यान संसद्मा केन्द्रित भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताए।

‘‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्बन्धी प्रस्ताव के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले एमसिसीसम्बन्धी सहयोग लिने/नलिने भन्नेमा नेपाली समाजमा बहस छेडिएको र बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइने टिप्पणी गरे। ‘एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्छु’ , उनले भने।

लोकतन्त्रमा विरोध भइरहन्छन्

सभामुखमा निर्वाचित भएपछि आफ्नो बारेमा गरिएको विरोधलाई सामान्यरूपमा लिँदै उहाँले लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट भएको टिप्पणी गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै केही व्यक्तिले विरोध गरेका थिए ।

उनले आफूविरुद्ध अदालतममा केही मुद्दा विचाराधीन रहेको र ती विषयमा बढी बोल्नु मनासिव नहुने बताए । ‘यस विषयमा धेरै बोल्नु परिवक्वता हुँदैन’ , त्यस विषयमा आफूलाई बोल्न बाध्य नपार्न आग्रह गर्दै उनले भने, ‘केही विषय उठेका छन्, ती निरुपण हुँदै जान्छन् ।’

पदवहालीलगत्तै सभामुख सापकोटाले संसद्मा पेश गर्न विधेयक स्वीकृत गरेका थिए । सभामुखलाई कार्यकक्षमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत संसद्का कर्मचारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया