बिहीबार, चैत १५, २०८०

माथेमाको पूर्ण कदको सालिक प्रतिस्थापन

नेपालखोज २०७६ माघ १३ गते १६:१२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहीद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेका स्थान सिफल उकालोमा उनको पूर्ण कदको सालिक प्रतिस्थापन गरेको छ । शहीद सप्ताहअन्तर्गत सोमबार माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा आयोजना गरिएको श्रद्धाञ्जलि सभामा महानगरका प्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले सालिक अनावरण गरे । सालिक रु १० लाखमा कलाकार महेश तुलाधरले तयार पारेका हुन् ।

कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धि र विकासले मात्र शहीदको सपना पूरा हुने बताउँदै हालसम्म प्राप्त गरिएको राजनीतिक उपलब्धि शहीदकै कारणले भएको बताए । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आफ्नो सम्पन्नता भन्दा नागरिकको स्वतन्त्रता र सम्पन्नतालाई महत्व दिनुहुने काजी परिवारको माथेमाले देखाएको बाटोमा सदैव लम्किरहनुपर्ने धारणा राखे।

सभामा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले कामपाले पूर्ण कदको सालिक निर्माण गर्न लगाएपछि शहीदको बलिदानीका बारेमा नयाँ पुस्तालाई स्मरण गराउन मिल्ने बताए ।

विसं १९६६ आश्विन १ गते काठमाडौँको ओमबहालमा जन्मेका माथेमालाई तत्कालीन राणा शासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको भन्दै विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रूखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यान दण्ड दिने निर्णय गरेका   थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यान दण्ड दिइएको थियो । शहीद सप्ताहका बाँकी कार्यक्रममा माघ १५ गते शोभा भगवतीमा शहीद गङ्गालाल श्रेष्ठ र दशरथचन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभा गरिनेछ ।

त्यस्तै माघ १६ गते शहीद स्मारक लैनचौरमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलिसभा गरिनेछ । कामपाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो । कामपाले शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकु पचलीमा गत वर्ष नै पूर्ण कदको सालिक निर्माण गरिसकेको छ ।

प्रतिक्रिया