बिहीबार, वैशाख १३, २०८१

चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

नेपालखोज २०७६ माघ १४ गते १०:०५

१४ माघ, दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियो ।

मृतक बालकको घरमा पुगेर आमा पवित्रा सुनारलाई राहत रकम प्रदान गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराइनेछ ।

गाउँमा भएको छेवरको भोज खाएर फर्कने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो । आमासँगै रहेका बेला चितुवाले बालकलाई झम्टेर लिएर गएको थियो । घर नजिकै पुग्ने बेलामा चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा ८० मिटर तल खोल्सामा फेला परेको थियो ।

प्रतिक्रिया