शुक्रबार, असार २०, २०८२

राष्ट्रपति भण्डारीद्वारा वीर सहिदहरूप्रति श्रद्धा, सम्मान व्यक्त

नेपालखोज २०७६ माघ १६ गते ११:१४

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदले गरेको त्याग र बलिदानबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन् । ‘सहिद दिवस, २०७६’ को सन्देश जारी गर्दै उनले वीर सहिदहरूप्रति श्रद्धा, सम्मान व्यक्त गरेकी हुन् ।

सन्देशमा भनिएको छ, ‘राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, समानता एवं जनजीविकाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान सहिदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

सन्देशमा देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर सहिदहरूप्रति श्रद्धा, सम्मान र स्मरण स्वरूप विविध रचनात्मक कार्यक्रमहरू गरी सहिद दिवस मनाउँदै आइएको उल्लेख गरिएको छ ।

‘सहिद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको सपना साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु’ सन्देशमा भनिएको छ ।

प्रतिक्रिया