शुक्रबार, वैशाख ७, २०८१

आज आइपुग्ने कोरोनाविरुद्धको खोप विमानस्थिलबाट सिधैँ टेकु लगिने

नेपालखोज २०७७ माघ ८ गते १०:०३

काठमाडौं । भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्ने भएको छ । बिहीबार बिहान ११ बजेर ४५ मिनेटमा एयर इन्डियाबाट आइपुग्ने खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलबाट सिधैँ टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिने भएको छ ।

भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजडित दुईवटा ट्रक तयारी अवस्थामा राखिएको छ ।

आज भारतबाट नेपाल आइपुग्ने खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना सरकारको छ भने खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कोरोनाविरुद्धको खोप लगाउन कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा भइसकेको बताएका छन् ।

बुधबार साँझ पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरू रहेको बताए । स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया