टिपरको ठक्करले महिलाको मृत्यु भएपछि गोरखामा अवस्था तनावपूर्ण, २६ वटा टिपरमा तोडफोड र आगजनी
१७ माघ, गोरखा । गोरखामा टिपरले किचेर एक महिलाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावपूर्ण भएको छ । आज बिहान टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयले २६ वटा टिपर र स्काभेटरमा आगजनी गर्नुका साथै तोडफोडसमेत गरेका छन् । गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले ती महिलालाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई शुक्रबार आज बिहान पौने सात बजे क्रसरबाट निस्केको टिपरले किचेको थियो ।
तामाङको मृत्यु भएपछि सयौँजनाको आक्रोसित भीडले उक्त टिपरमा आगजनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका हुन् । क्रसरभित्र पचास भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया