बिहीबार, असोज ३, २०८१

नयाँबसपार्क शुद्धीकरण अभियान, लागुऔषधसहित ७३ पक्राउ

नेपालखोज २०७६ माघ १९ गते १०:२९

१९ माघ, काठमाडौँ । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति, बिसङ्गति अन्त्यका लागि नयाँ बसपार्क शुद्धीकरण अभियान सञ्चालन गरेको जानकारी दिए । “बसपार्क क्षेत्रमा बसेर लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति गर्ने÷गराउने, तोकिएको मापदण्ड पालना नगरी बिचौलिया राखेर यात्रुलाई हैरानी दिनलाई पक्राउ गरेका छौँ”, उनले भने ।

पक्राउ पर्नेमा उर्वसी डान्सबारका सञ्चालक, नमस्ते डान्सबारका मेनेजर, दर्शन नमस्ते रेष्टुरेन्टका सञ्चालक, गोरखा मनकामना गेष्टहाउसका सञ्चालकलगायत छन् । पक्राउ परेकासँग प्रहरीले लागुऔषध गाँजा र नाइट्राभेट ट्याब्लेटसमेत बरामद गरेको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाउनका लागि सबै लाग्नुपर्ने बताए ।

प्रतिक्रिया