शनिबार, असार ३०, २०८१

प्रहरी र प्रर्दशनकारी विच झडप हुँदा कैलालीको लम्की क्षेत्र तनाव ग्रस्त

नेपालखोज २०७६ माघ १९ गते १८:१७

कैलाली लम्की । मोटरसाइकल दुर्घटनामा परी शुक्रबार लम्की चुहानगरपालिका–६ का मायाराम चौधरीको मृत्यु भएको घटनालाई लिएर पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा सडकखण्ड तनावग्रस्त बनेको छ ।
मोटरसाइकल दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारवाहीको माग गर्दै स्थानीयवासीले बिहानैदेखि अवरुद्ध पारेको सडक खुलाउने क्रममा प्रहरीमाथि ढुङगा प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको हो ।

स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। यस क्रममा प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रयोग गरेको थियो । ढुङ्गा प्रहारबाट प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टसहित केही प्रहरी सामान्य घाइते भएका छन् ।

लम्कीचुहा सडकखण्ड अवरुद्ध हुँदा यातायात आवागमन बिहानैदेखि ठप्प छ । शुक्रबार राति सो सडकखण्डमा से२प१८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लम्की चुहानगरपालिका–६ का २२ वर्षिया मायाराम चौधरीको मृत्यु भएको थियो । प्रहरीले उक्त मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । अहिले समस्या समाधानका लागि सर्वपक्षीय बैठक बसिरहेको छ ।

प्रतिक्रिया