शुक्रबार, वैशाख २१, २०८१

नेकपाका संघीय सांसदहरुले अब पार्टीलाई मासिक १२ हजार लेवी तिर्नुपर्ने

नेपालखोज २०७६ माघ २० गते ११:३७

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्दै आएका सांसदहरुले अब मासिक १२ हजार लेवी तिर्नुपर्ने भएको छ । यसअघि पूर्व एमालेले मासिक १३ हजार तथा पूर्व माओवादीले १२ हजार पार्टीलाई बुझाउँदै आएका थिए ।

माघ १५ देखि २० गतेसम्म काठमाण्र्डौ चलेको नेकपाको केन्द्रीय कमिटीको बैठकमा केन्द्रका मन्त्री, सांसद एवं प्रदेशमा मन्त्री र सांसदहरुको लेबीबारे प्रश्न उठेपछि आइतबार यसबारे नेकपा सचिवालयमा छलफल भएको थियो ।

सचिवालयको छलफलमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुको लेबी १२ हजार कायम गरेर एकरुप बनाउन प्रस्ताव गरेपछि सर्वसम्मतिमा लेबी मासिक १२ हजार रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी नेकपाले लिँदै आएको पार्टी सदस्यहरुले तिर्दै आएको मासिक लेबी पनि घट्ने भएको छ । हाल नेकपाका सदस्यले मासिक ५० रुपैयाँ सदस्यता शुल्क तिर्दै आएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा सदस्यता शुल्क घटाउनुपर्ने र महिलालाई निशुल्क गराउनुपर्ने माग उठेपछि यसबारेमा पनि आइतबारको सचिलावय बैठकमा छलफल भएको थियो । केही नेताहरुले सदस्यहरुको लेबी मासिक २५ रुपैयाँमात्रै राख्न प्रस्ताव गरे पनि यसबारे अर्को बैठकमा निर्णय लिइने बताइएको छ ।

प्रतिक्रिया