बिहीबार, चैत १५, २०८०

टिकापुर घटनालाई राजनीति सम्बोधन नगरे आन्दोलन गर्ने थारुहट मोर्चाको चेतावनी

नेपालखोज २०७६ माघ २१ गते १७:४०

दाङ । वि.सं. २०७२ साल भदौ ८ गते कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन नगरिए आन्दोलन गर्ने थारुहट थारुवान राष्ट्रिय मोर्चाले चेतावनी दिएको छ ।

मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले मंगलबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घटनालाई राजनीतिक सम्बोधन गरेर निकास दिनुपर्ने बताएका हुन् ।

उनले विनाकारण थुनामा रहेका प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहितका व्यक्तिलाई तत्काल थुना मुक्त गरेर संविधानको सम्मान गर्नसमेत सरकारलाई आग्रह गरे।

थारुले उक्त घटनाको छानविनका लागि गठित समितिको र आयोगको प्रतिवेदनसहित यथार्थ अवस्था सार्वजनिक गर्न माग गरेका छन् । उनले लाल आयोग र देविराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्नसमेत माग गरे ।

घटनाका दोषीलाई तत्काल कारवाशी गर्नुपर्ने उनले बताए । त्यो घटनाले सबैलाई पीडा दिएको र मर्माहत बनाएको भए पनि थारु जातिको अपमान हुने गरी भएका गतिविधिले थारुहरु आन्दोलनमा जानु पर्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।

प्रधानमन्त्रीले जनताको भावना र थारू पहिचानमा खलबल पुर्‍याएको भन्दै शासकका विरूद्ध आन्दोलन सुरु गर्नु पर्ने अवस्था आएको उनले बताए । उनले मोर्चाले १४ बुँदे माग सरकारलाई बुझाएको र त्यो माघ मसान्तभित्रमा पूरा नभए फागुन १ गतेदेखि आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

उनले संविधान जनजाति आदीवासी र थारुका लागि जस्ताको तस्तै स्वीकार्य नभएको भन्दै केही मुद्दा संशोधन र खारेजीको आवश्यकता रहेको बताए । वर्तमान सरकारका कारण थारु समुदायले आन्दोलनको तयारी गर्नु बाध्यता भएको भन्दै सरकारको निरङ्कुशताको अत्य हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया