शनिबार, असार ९, २०८१

सीटीईभीटीका २४ हजार भर्ना कोटामा विद्यार्थी नै आउँदैनन्

नेपालखोज २०७६ माघ २२ गते ८:३०

२२ माघ, काठमाडाैं । सरकारले अर्बौं लगानी गरेर प्राविधिक शिक्षा र व्यावसायिक तालिम सञ्चालन गरे पनि कोटाअनुसार विद्यार्थी नै भर्ना नहुने गरेको पाइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि ६८ प्रतिशतमात्र भर्ना हुने गरेको पाइएको हो ।

सीटीईभीटीमार्फत सञ्चालन हुने प्राविधिक एसएलसी र डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रममा ३२ प्रतिशत अर्थात् २४ हजार कोटामा भर्ना आवेदन नै नपर्ने गरेको देखिन्छ । एसएलसी तहका ९ सय कार्यक्रममा ३५ हजार र डिप्लोमा तहमा ९३८ कार्यक्रममा ३८ हजार ९७६ भर्ना क्षमता रहेको छ । यी दुवै तहमा गरेर २४ हजार कोटामा भर्ना आवेदन नै आउँदैन ।

नेपालमा प्राविधिक क्षेत्रमा कार्यरत मध्यमस्तरको जनशक्तिमध्ये ७० प्रतिशत अर्थात् २५ लाख तालिमविहीन भइरहेको अवस्थामा माग अनुसार भर्ना आवेदन नआउने सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले जानकारी दिए । याे समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया