शुक्रबार, असोज ५, २०८०

राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै कांग्रेसद्वारा सदन अवरुद्ध (भिडियोसहित)

नेपालखोज २०७६ माघ २३ गते १४:४६

काठमाण्डौ । आफ्ना दलका उपनेता विजयकुमार गच्छेदारमाथि राजनीतिक प्रतिशोधका आधारमा ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गर्दै आएको छ ।

बिहीबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्धा लगाएको बताइन् । ‘यसबाट अख्तियार जस्तो संवैधानिक आयोग पनि सरकारको लाचार छायाँ बनेको पुष्टि भएको छ’ उनले भनिन् ।

मावधकुमार नेपाल प्रधानमन्त्री हुँदा भौतिक योजनामन्त्री गच्छदारले नीतिगत निर्णयका लागि प्रस्ताव लगेको भन्ने थाहा भएको भन्दै उनले भनिन्, ‘यो नीतिगत निर्णयलाई आधार बनाएर आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसको निर्णयकर्ता भौतिक योजनामन्त्री गच्छदार जग्गा वितरण गर्ने, लालपूर्जा दिने अधिकार लिएर गएको हो वा प्रधानमन्त्रीको नेतृत्वमा निर्णय भएको हो ?’

आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता गच्छदारलाई मुद्दा लगाउनु प्रतिशोधपूर्ण भएको कांग्रेसको दाबी छ । अख्तियारको आरोपपत्र विरोधाभाषपूर्ण रहेको भन्दै कांग्रेस प्रमुख सचेतक भुसालले भनिन्, कुनै सचिवलाई मुद्दा दायर गर्ने, कुनैलाई नगर्ने, कुनै मुख्य सचिवलाई गर्ने, कुनैलाई नगर्ने र कुनै मन्त्रीलाई गर्ने, कुनै मन्त्रीलाई नगर्ने किन ?’

प्रतिक्रिया