ललिता निवास जग्गा प्रकरण : सडक र सदनबाट कांग्रेसको विरोध
काठमाडौँ । आफ्ना उपसभापति विजयकुमार गच्छदारको बचाउँमा नेपाली कांग्रेस सडकदेखि सदनबाट विरोध गरिरहेको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा विक्री प्रकरणमा गच्छदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि कांग्रेस सदन र सडक दुवै तहबाट विरोधमा उत्रिएको हो ।
कांग्रेसले शुक्रबार दिउँसो एक बजे गच्छदारको बचाउँमा राजधानीको माइतीघर मण्डलमा प्रदर्शन ग¥यो। माइतीघरमा विरोधमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताले बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै चर्को नाराबाजी गरे।
माइतीघरमा कांग्रेसको एउटा समूह उत्रिएको आधा घण्टापछि प्रतिनिधिसभामा त्यही नारा लाग्यो। दिउँसो १ बजेर २५ मिनेटमा सुरु भएको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले आफ्ना नेता गच्छदारलाई सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियतवश फसाएको भन्दै आक्रोश व्यक्त गरे।

प्रतिक्रिया