मंगलबार, असार १२, २०८१

एक महिने स्वस्थानी व्रत आज समापन हुँदै

नेपालखोज २०७६ माघ २६ गते ८:३३

२६ माघ, काठमाडाैँ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रत आज समापन गरिँदै छ ।

पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

विधिपूर्वक एक महिने व्रत गरेका नरनारीले माघ शुक्ल पूर्णिमाका दिन व्रतअनुसारकाे मनाेकामना पूर्णहोस् भनी भगवतीलाई अर्घ्य समेत दिइन्छ । रातमा जाग्राम बसी देवीको माहात्म्य सुन्ने-सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

प्रतिक्रिया