शनिबार, वैशाख १३, २०८२

सरकार तानाशाही छैन : प्रधानमन्त्री

नेपालखोज २०७६ माघ २८ गते १९:००

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार तानाशाही नभएको भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महत्वपूर्ण व्यवसायिक व्यक्तित्व (सीआईपी) अवार्डबाट उद्योगी व्यवसायीलाई सम्मान गर्न मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

विकासको चाहाना निजी क्षेत्र र सरकार दुवैको भएको भन्दै उनले सुशासनका सम्बन्धमा कहिलेकाहीँ निजी क्षेत्रसँग कुरा नमिल्ने गरेपनि आफूहरु लोकतान्त्रिक व्यवस्थामै भएको जिकीर गरे ।

उनले भने,“सरकारले निजी क्षेत्रसँग केही माग्दैन, खाजेको पनि छैन, तर, पारदर्शिता र स्वच्छता खोज्छ ।” प्रधानमन्त्री ओलीले सरकारले व्यावसायिबाट पारदर्शिता, स्वच्छता मात्रै खाजेको बताए ।

कमिसन र भ्रष्टाचारलाई सहयोग नगर्न आग्रह गर्दै कार्यक्रममा प्रधानमन्त्री ओलीले विस्तारै स्वच्छता र पारदर्शिता स्थापित गराएरै छाड्ने बताए । प्रधानमन्त्रीले कमिसन दिनुपर्ने परिस्थिति सिर्जना गरिए र काममा अप्ठ्यारो पारिए आफूलाई भेट्न समेत आग्रह गरे ।
उनले निजी क्षेत्रलाई कानुनको पालना गर्न आग्रह गर्दै निजी क्षेत्रका समस्या समाधान गरेर लगानी बढाउन सरकारले पूर्ण साथ दिने आश्वासन दिए । उनले थपे, “कानुनका मस्यौदा ल्याउनुहोस्, सरकार त्यसमा मिलाउन तयार छ ।”

मंगलबार राष्ट्रिय सभागृहमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले सीआईपी अवार्ड पाएका उद्योगी व्यवसायीलाई सरकारले दिएको लोगोको मर्यादा राख्न पनि आग्रह गरे ।

प्रतिक्रिया