अमेरिकी चुनाव : दुई जनाले फिर्ता लिए उम्मेदवारी
काठमाडौँ । अमेरिकी नेटवर्कको मतसर्वेक्षण अनुमान अनुसार न्यू ह्याम्पसायरको डेमोक्रेटिक पार्टीको प्राथमिक (प्राइमरी) चुनावमा बर्नी स्यान्डर्स विजयी भएका छन् । पछिल्लो नतिजाले पार्टीका वरिष्ट सदस्य एवं पूर्व उपराष्ट्रपति जो बाइडेन लगायतका उम्मेदवारसामु आगामी प्रतिस्पर्धामा सहभागी हुने वा नहुने भन्नेमा अन्यौल खडा भएको छ ।
अधिकाँश मतगणना भइसक्दा पार्टीमा प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सले २६ प्रतिशत मत प्राप्त गरे । यही राज्यमा स्यान्डर्सले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पनि पराजित भए । एनबीसी र एबीसीले आफ्नो पक्षमा नतिजा आएको बताएलगत्तै स्यान्डर्सले उत्साहित समर्थकहरूलाई सम्बोधन गर्दै भने, “न्यू ह्याम्पसायरका जनतालाई ठूलो जितका लागि धन्यवाद दिन चाहन्छु ।”
“यो विजय डोनाल्ड ट्रम्पको अन्त्यको शुरुवात हो,” छिमेकी राज्य भर्मोन्टका सिनेटर स्यान्डर्सले भने । उनले न्यायपूर्ण कर प्रणाली र स्वास्थ्य सेवा सुधारका कार्यलाई अब कसैले रोक्न नसक्ने बताए ।
दोस्रो स्थानमा रहेका भएका इण्डियाना राज्यका पूर्व मेयर पीट बुटिगीगले २४ प्रतिशत मत पाउने अनुमान गरिएको छ । उनी आगामी अझ कठिन राज्यहरुमा पनि चुनावी मैदानमा स्यान्डर्ससँग भिड्ने योजनामा छन्।
“अब हाम्रो अभियान नेभाडा, दक्षिण क्यारोलिना हुँदै देशका कुनाकाप्चासम्म विस्तार हुनेछ । र हामी हरेक चरणमा नयाँ सहयोगीहरुलाई स्वागत गर्नेछौं,” स्यान्डर्सले भने।
उदारवादी सोचकी सिनेटर एमी क्लोबुचर २० प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन् । सिनेटर एलिजाबेथ वारेन करिब ९ प्रतिशत मतका साथ चौथो स्थानमा छिन् ।
ट्रम्पले व्यङ्ग्य मिश्रित ट्वीट गर्दै भने, “बुटिगीगले आज राति राम्रै नतिजा ल्याउनु भयो । बर्नीको पागलपनलाई बुटिगीगले चुनौती दिँदैछन् । धेरै चाखलाग्दे !”
बाइडेनलाई न्यु ह्याम्पसायरबाट पर्याप्त मत प्राप्त नहुने पहिल्यै अनुमान गरिएको थियो । आयोवामा पनि उनको हालत यस्तै थियो । पूर्व उपराष्ट्रपति बाइडेनका लागि ८ प्रतिशतको हाराहारीमा मात्र मत प्राप्त हुनु निकै निराशाजनक स्थिति हो ।
चन्दा संकलनमा समेत निकै पछि परेका बाइडेनका लागि चुनाव परिचालन अहिले फलामको च्यूरा सरह भएको छ । राष्ट्रपतिको उम्मेदवारको टिकट प्राप्त गर्नेतर्फ उनको प्रयास निकै कमजोर हुनुका साथै समर्थकमा उत्साह सिर्जना गर्न असफल देखिएको छ ।
प्रविधि उद्यमी एन्ड्र्यू याङ र कोलोराडो सिनेटका माइकल बेनेटले राष्ट्रपतिको दौड परित्याग गरेको घोषणा गरेका छन् । “तपाईंलाई थाहा छ म गणितको विद्यार्थी हुँ, र ह्याम्पसायरको मतसंख्याबाट यो स्पष्ट छ कि हामी यो दौड जित्न सक्दैनौं,” आफ्ना समर्थकलाई सम्बोधन गर्दै याङले भने । हेको छ ।
प्रतिक्रिया