सिन्धुपाल्चोकमा देखिएको स्वास्थ्य समस्या कोरोना होइन, मौसमी रुघाखोकी : स्वास्थ्य मन्त्रालय
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बा गाउँमा देखिएको स्वास्थ्य समस्या मौसमी रुघाखोकी भएको जनाएको छ ।
मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोकमा देखिएको स्वास्थ्य समस्या कोरोना नभइ मौसमी रुघाखोकी भएको बताएको हो । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सिन्धुपाल्चोकमा देखिएको समस्या कोरोना नभइ मौसमी रुघाखोकी भएको बताए। उनले कोरोना भनेर गलत सन्देश फैलाइएको बताउँदै जुगल गाउँपालिकाको गुम्बा गाउँमा सय जनाभन्दा बढीमा उच्च ज्वरो र रुघाखोकीको समस्या आत्तिनु नपर्ने जानकारी दिए ।
श्रेष्ठले भने,‘अहिले चिसोमा भाइरलको प्रकोप छ। आजै भोलिमा विशेषज्ञ टोली नमूना परिक्षणका लागि जाने भएका छन्। त्यसपछि थप जानकारी आउँछ।’
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार प्रादेशिक जनस्वास्थय प्रयोगशालाबाट चिकित्सक र नर्स तथा काठमाडौंको प्रयोगशालाका एकजना प्राविधिकसहितको टोली बिरामीको स्याम्पल परीक्षणका लागि गुम्बागाउँतर्फ गएको छ।
जुगल गाउँपालिकाका स्वास्थ्य संयोजक अनिल साउदले पनि गुम्बा गाउँको ज्वरो नियन्त्रणमा रहेको र कोही पनि गम्भीर नभएको बताएका छन्।गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले २३ गतेदेखि गाउँले विरामी पर्न थालेपनि २८ गते यो संख्या सय नाघेपछि मन्त्रालयलाई विशेषज्ञ पठाइदिन चिठी लेखेको थियो ।
प्रतिक्रिया