शैक्षिक गुणस्तर बृद्धिका निम्ति कूलमाया भगवतीको ४ कोठे भवन उद्घाटन
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १ स्थित श्री कूलमाया भगवती माध्यामिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्घाटन भएको छ ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले विद्यालयको भवन उद्घाटन गर्दै स्थानीय तहमा सामुदायिक विद्यालयको व्यवस्थापनको जिम्मेवारी स्थानीय जनप्रतिनिधिलाई नै दिइएका कारण शैक्षिक गुणस्तर बृद्धि भएको बताए । उनले भने, ‘स्थानीय तहमा शिक्षा नीतिमा व्यवहारिक रुपमा परिवर्तन गरी स्थानीय जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाइएका कारण अहिले नगरपालिका भित्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि भएको छ ।’
थापाले शैक्षिक विकासको निम्ति भौतिक संरचना र पूर्वाधारको विकासमा समेत नगरपालिकाले विशेष ध्यान दिँदै आएको बताउँदै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको समेत बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप कार्कीले आफू र विद्यालयका शिक्षक–शिक्षिकाको विशेष योगदान र भूमिकाकै कारण विद्यालयको भौतिक पूर्वाधार निर्माण एवं शैक्षिक गुणस्तर बृद्धिका निम्ति अगाडि बढ्न सकेको धारणा राखे । कार्कीले भने,‘विद्यालयको भौतिक संरचना निर्माण गर्न सफल भएका छौ यो हाम्रो ठूलो उपलब्धी हो, अबका दिनमा शैक्षिक गुणस्तरितालाई बृद्धि गर्नु हाम्रोे मुख्य लक्ष्य हो ।’
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका सदस्य बाबुकाजी श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम थापाले स्थानीय तहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका निम्ति विशेष योगदान दिनुपर्ने बताए ।
विद्यालयको नव निर्मित भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना शिक्षा इकाइको ६९ लाख ६९ हजार ६ सय लागतमा निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप कार्कीले नेपाल खोजलाई जानकारी दिए । यसैगरी सोही कार्यक्रममा विद्यालयको अक्षय कोष स्थापनाका निम्ति सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानअध्यापक, शिक्षक तथा चन्दादताहरुलाई दोसल्ला ओडाइ सम्मान प्रदान गरिएको थियो । यसैगरी सोही विद्यालयमा अध्ययन गरेको २०७५ को बार्षिक परीक्षामा उत्कृष्ट छात्रछात्रालाई प्रशंसापत्र तथा पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया