शनिबार, वैशाख १३, २०८२

कोरोना प्रभावित क्षेत्रबाट नेपाली फिर्ता ल्याउन भोलि पौने ३ बजे नेपाली विमान वुहान प्रस्थान गर्दै

नेपालखोज २०७६ फागुन २ गते १५:१२

काठमाण्डौ । कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान शनिवार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले कोरोनाप्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन शनिवार दिउँसो पौने ३ बजे विमान चीनको वुहान प्रस्थान गर्ने जानकारी दिइन् ।

विमानमा चालक दलका ३ सदस्य, ६ जना क्रुज मेम्बर र ४ जना चिकित्सक रहने र उनीहरूको पहिचान गोप्य राखिएको छ ।

चीनस्थित नेपाली दूतावाससँगको समन्वयमा त्यहाँ रहेका नेपालीलाई लिएर विमान तत्काल काठमाडौं प्रस्थान गर्ने उनले बताइन् ।

विमान पर्सि बिहान सवा २ बजे काठमाडौं अवतरण गर्नेछ । विमानस्थलमा उत्रिएपछि उनीहरूलाई बसमा राखेर सिधै खरिपाटी लगिनेछ ।

वुहानबाट ल्याइने नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन तयार पारिएको छ ।

चीनबाट ल्याइने १८५ जनालाई क्वारेन्टाइनमा राखिनेछ । १४ दिनसम्म क्वारेन्टाइमा राखेर उनीहरूलाई चिकित्सकले निरन्तर निगरानी गर्नेछन् ।

वुहानबाट ल्याउन लागिएकाहरूमा कोरोना भाइरसको संक्रमण पाइएको छैन, तर १४ दिनसम्ममा संक्रमण देखिन सक्ने सम्भावना पनि हुने भएका कारण उनीहरूलाई क्वारेन्टाइनमा राख्न लागिएको हो ।

वुहानबाट ल्याउन लागिएका नेपाली नागरिकलाई खरिपाटीमा राखिने भएपछि त्यस क्षेत्रमा भने त्रास फैलिएको छ । आफूहरूलाई पनि कोरोनाको संक्रमण हुनसक्ने त्रास स्थानीयमा छ ।

चीनबाट ल्याउन लागिएका नेपाली नागरिकहरू कोरोना प्रभावित नभएको र सजगता अपनाउनका लागि नै उनीहरूलाई क्वारेन्टाइनमा राख्न लागिएको कुरा सरकारले स्थानीयलाई बुझाउन सकेको छैन ।

प्रतिक्रिया