सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्रको पोल्टामा
काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो ।
विस २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो ।
फाइनल सरह रहेको अन्तिम खेलमा मच्छिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए ।
रञ्जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यहीँ विकासको आत्मघाती गोलले आर्मी भने पहिलो पटक लिगको उपाधि जित्नबाट बन्चित बन्यो ।
खेलमा मच्छिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए ।
जितसँगै मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । गत सिजन खराब प्रदर्शनको कारण १ अंक सुरुवातबाटै घटेको मछिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्यो ।
उपाधि जित्ने क्रममा मच्छिन्द्रले आर्मीलाई २ अंकले पछि पार्यो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । आर्मीले ९ जित, २ बराबरी र २ हारको सामना गर्यो ।
यस्तै लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब तेस्रो, २६ अंक जोडेको थ्री स्टार चौंथो र २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रह्यो ।
१९ अंक जोडेर जावलाखेल युथ क्लब छैटौं स्थानमा रहन सफल भयो । अब शीर्ष ६ टोलीले आगामी बैशाखमा हुने राष्ट्रिय लिग खेल्नेछ ।
यस सिजन ४ अंक जोडेको सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ ।
प्रतिक्रिया