सञ्चार माध्यमले सरकारको राम्रो काम देखेन : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको भन्दै गुनासो व्यक्त गरेका छन् ।
काठमाडौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्चारमाध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार प्रकाशित गरेको बताए । आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अनर्गल प्रचार गर्ने गरिएको प्रति उनले दुखेसो पोखे ।
सञ्चारमाध्यमको भूमिका, सञ्चारमाध्यममा आएका समाचारप्रति सधैं असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौमा आयोजित कार्यक्रममा पनि सञ्चारमाध्यमप्रति गुनासो गरेका छन् ।
उनले भने, ‘कुनै कुनै सञ्चारमाध्यमले भोलि पनि बाँसुरी बजाएको न्युज दिन्छन्, दया लाग्छ, देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ । कुनै कुनै भन्ने शब्द प्रयोग ग¥या छु । कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटै छाप्दैनन् ।’
उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए । सरकार देश विकासमा अघि बढिरहेका वेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो गरे ।
आफुले तुइन विस्तापित गर्छु भन्दै प्रगति पेस गर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भए पनि तुईनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उनले गरे ।
‘मैले देखेँ, एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लिज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारेँ अरे। अनि मलाईचाहिँ यो बौद्धिकता देख्दा दया लाग्छ । देश विकास मजाक होइन । देश विकास आग्रह पुर्वाग्रहको विषय होइन । यो साझा अभिभारा हो, साझा कर्तव्य हो । हामी विकास गरिरहेका छौ भने खुसी हुनुपर्ने । तुइन विस्थापित भएकोमा रुवाबासी छ कतिको । अचम्म लाग्छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुईवटा तुईन विस्थापित गर्न बाँकी छ त्यहाँ । कति दुख गरेको होला ? कठै बरी,’ प्रधानमन्त्रीले दुख पोखे ।
उनले काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातिमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पारे ।
प्रतिक्रिया