बिहीबार, वैशाख १३, २०८१

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

नेपालखोज २०७६ फागुन ८ गते ८:२९

लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले चैत ३० गतेभित्र विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला गत वर्षायाममा बाढी पहिरोले पुरिएका संरचना मर्मतले ढिलाइ भएको प्रवद्र्धक लिबर्टी इनर्जी कम्पनी लिमिटेडले जनाएको छ ।

यसअघि भदौ १४ गते निर्माण सक्ने योजना रहेकोमा साउन ८ गतेको बाढीले आयोजनामा क्षति पु¥याएको थियो । आयोजना मर्मतसँगै बाँकी कार्यलाई तीव्रता दिइएको छ । आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताएका छन् ।

‘बाढीले पुरिएको भागको मर्मत सम्भार गरी आयोजनालाई अन्तिम रूप दिँदैछौँ । चैतभित्रै हामी विद्युत् उत्पादन गर्छौं’ उनले भने । आयोजनाका साइट प्रोजेक्ट म्यानेजर सुरेशप्रसाद जोशीका अनुसार आयोजनाको बाँध, डिसेन्डर तथा गेट संरचनाको काम ९४ प्रतिशत सकिएको छ । दुई हजार ६२३ मिटरको टनेल निर्माण ९६ प्रतिशत सकिएको छ ।

दुई हजार ८३४ मिटरको पेनस्टक पाइप बिच्छ्याउने र विद्युत् गृहको कार्य ९९ प्रतिशत सकिएको छ । मेसिनरी सामान जडान गर्न बाँकी छ । स्विच यार्डको सिभिल निर्माण कार्य ९० प्रतिशत सकिएको उनले बताएका छन् ।

आयोजनामा १२.५ मेगावाट क्षमताका दुईवटा पेलटन टर्बाइन रहने छन् । आयोजनाको ग्रसहेड ३२५ मिटर रहेको छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले विद्युत् गृह नजिकै दोर्दी गाउँपालिका ६ कीर्तिपुर बेँसीमा निर्माण गरिरहेको १३२ केभीको सब स्टेसनमा जडान गरिने छ । विद्युत् गृहदेखि सब स्टेसनको दूरी १३० मिटर छ । (गोरखापत्र दैनिकबाट)

प्रतिक्रिया