बिहीबार, वैशाख १३, २०८१

प्रहरीलाई सिट्ठी नदिने ठेकेदार कालोसूचीमा

नेपालखोज २०७६ फागुन ९ गते ७:११

काठमाडौं । नेपाल प्रहरीलाई सिट्ठीको अभाव पार्ने ठेकेदारलाई कालो सूचिमा राखिएको छ । गत वैशाख २५ गते सिट्ठी र पेटीको बक्कल आवश्यक रहेको भन्दै प्रहरी प्रधान कार्यालयले बोलपत्र आह्वान गरेको थियो ।

प्रहरीलाई चाहिने सिट्ठी कर्डसहितको ८ हजार ५ सय थान सिट्टी र ५ हजार थान पेटीको बक्कलका लागि दामोदर दुलालको श्रीदेव सप्लायर्सले ठेक्का लिएको थियो ।

८ हजार ५ सय थान सिट्ठीका लागि १० लाख ३ हजार र ५ हजार बक्कल १६ लाख ९० हजारमा उक्त सप्लार्यसले ठेक्का लिएको थियो । तर निर्धाति समयसम्म पनि उपलब्ध नगराएपछि प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग, प्रबन्ध निर्देशनालयले श्रीदेव सप्लायर्सलाई कालो सूचिमा राख्नुपर्ने भन्दै गत भदौ ८ मा सिफारिस गरेको थियो ।

प्रहरीको सिफारिसमा सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले फागुन ५ गते श्रीदेव सप्लायर्सलाई १ वर्षसम्म कालो सूचीमा राखेको छ । उक्त सामान खरिद सम्झौता भएपछि राखिएको १ लाख ४३ हजार ६ सय ५० रुपैयाँ जमानत समेत जफत गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया