बिहीबार, वैशाख २०, २०८१

घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो

नेपालखोज २०८० चैत ६ गते १३:००

ढोरपाटन (बागलुङ) । ‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो’, धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए ।

उनका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए । ‘रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन । गाडी हुँइकिएपछि मैले सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ’, उनले भने, ‘पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरुले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।’

घाइते दशरथको नाक, मुख र टाउकोमा चोट लागेको छ । उनी अन्य घाइतेहरुसँगै अस्पतालको आकस्मिक कक्षमा उपचाररत हुन् । आकस्मिक कक्षमा केही घाइतेहरु पीडाले कराइरहेका छन् भने कही मलिन अनुहारमा शोक मनाइरहेका छन् । उनीहरुको उपचारमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।

रुकुम पश्चिम मुसीकोट नगरपालिका-१ का नेपालीले आफू पसलका लागि सामान लिन र त्यही मेसोमा आफन्त भेट गर्न काठमाडौंका लागि गाडी चढेको बताए । उनले गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको सुनाए ।

“केही यात्रु गाडी पल्टिन्छ भन्ने लागेर हामफाल्ने प्रयास गरेका थिए । तर गाडी सडकबाट तल खसिहाल्यो’, उनले भने । बस खसेपछिको केही समयसम्म आफूले केही थाहा नपाएको उनले सुनाए । ‘केही बेरपछि होस आउँदा वरिपरी यात्रुका शव र घाइते मात्रै थिए । एकैछिन हातै चलेन । जसोतसो उठेर रुख र ढुङ्गाले च्यापिएका घाइतेलाई निकाल्न सहयोग गरेँ ।’

उनीसहितका घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि रातिनै बागलुङ ल्याएको थियो । उनका अनुसार गाडीको अघिल्लो पट्टि बसेको धेरैको मृत्यु भएको छ ।

दशरथसँगै आकस्मिक कक्षमा उपचार गराइरहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ का हेमराज केसीको टाउको र नाकमा चोट लागेको छ भने बाँया हात राम्रोसँग चलेको छैन । उहाँ पनि चालकको लापरबाहीले दुर्घटना भएको बताए ।

‘म गाडीको पछिल्लो सिटमा थिएँ । गाडी अनियन्त्रित भएपछि म हालफाल्न ढोकासम्म पुगेको थिए । तर ढोका खोल्न नपाउँदै बस खस्यो’, उनले सुनाए । उनले बस पल्टिएपछि आफूले केही थाहा नपाएको बताए । ‘म होसमा आउँदा शरीर रुखले च्यापिको थियो । साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थे हुँला’, उनले भने । उनका अनुसार होस्मा आउँदा केही काल्नामा अड्किएका थिए त केही घाइतेहरु चिच्चाइरहेका थिए ।

दुर्घटनामा परी घाइते भएकाहरुले धौलागिरी अस्पतालले विपद् व्यवस्थापन टिममार्फत उपचार गराइरहेको छ । सो अस्पतालका सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको बताए । उनका अनुसार सात जनालाई भने पोखरा रेफर गरिएको छ । घाइतेमध्येका धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको उनको भनाइ छ । पोखरा पठाइएका घाइतेहरुको अवस्था भने गम्भीर रहेको भण्डारीले बताए ।

प्रतिक्रिया